शनिबार, वैशाख १३, २०८२

लिट्मस इन्डस्ट्रिज लिमिटेडद्वारा नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको सुरुवात

नेपालखोज २०८१ चैत १३ गते ११:०८

काठमाडौं । लिट्मस इन्डस्ट्रिज लिमिटेडले ‘लिट्मस २.०’ अन्तर्गत एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको पहिलो एल्युमिनियम रड उत्पादन उद्योगको औपचारिक सुरुवात गरेको छ । नवलपरासीको रामग्राम हकुईमा अवस्थित यस अत्याधुनिक उद्योगले नेपाली बजारमा हुने एल्युमिनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै त्यसको उत्पादनमा हाम्रो आत्मनिर्भरतालाई समुन्नत बनाउँदै लेजाने विश्वास गरिएको छ ।

यस महत्वपूर्ण उपलब्धिलाई स्मरणीय बनाउन चैत्र १३ गते फर्नेस प्फलेमिङ सेरेमोनीको आयोजना गरिएको थियो । समारोहलाई प्रमुख अतिथि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, श्री कृष्ण बहादुर राउतले उद्घाटन गरेका हुन । हाल नेपालमा तार, केबल र कन्डक्टर निर्माणमा प्रयोग हुने एल्युमिनियम रड आयातमार्फत पूर्ति हुँदै आएको छ ।

यस प्लान्टको सञ्चालनले एल्युमिनियम रडको आयात परनिर्भरतालाई उल्लेख्य रुपमा घटाउनुका साथै देशभित्रै उच्च गुणस्तरको एल्युमिनियम रडको नियमित आपूर्ति प्रत्याभूत गर्नेछ । एल्युमिनियम रडको स्वदेशमै उत्पादन गरेर, लिट्मस इन्डस्ट्रिजले नेपालले व्यहोरी रहेको व्यापार घाटा केही मात्रा भए पनि न्यूनीकरण गर्ने उद्देश्यका साथै सरकारी राजस्व बचतबाट राष्ट्रिय अर्थतन्त्रमा हुने हितलाई पनि ध्यानमा राखेको छ ।

आर्थिक पक्षसँगै, यस परियोजनाले उत्पादन, ढुवानी र बिक्री लगायतका क्षेत्रमा सयौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ । लिट्मसले प्राविधिक ज्ञान अभिवृद्धि गर्ने तालिम तथा दक्ष जनशक्ति विकास कार्यक्रम पनि अघि सारेको छ, जसले दीर्घकालीन औद्योगिक विकासमा टेवा पु¥याउनेछ ।

नेपालको पहिलो एल्युमिनियम रड उत्पादन कम्पनीको सुरुवात हुनु लिटेमस इन्डस्ट्रिज लिमिटेडको लागि मात्रै नभई देशको समग्र उत्पादन क्षेत्रकै लागि एउटा ठूलो कोशेढुङ्गा र रणनैतिक फड्को हो ।

यस परियोजनाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै देशमा आन्तरिक र बाह्य लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । कच्चा पदार्थमा स्थानीय रूपमा मूल्य संवद्र्धन गर्दै जाने यो दृष्टिकोण सरकारले लिएको आत्मनिर्भर औद्योगिक विकासको मार्गचित्रसँग पूर्णतः मेल खान्छ ।

प्रतिक्रिया