शनिबार, वैशाख १३, २०८२

प्रधानमन्त्री कप क्रिकेटः पुलिसद्वारा आर्मीलाई १४९ रनको लक्ष्य

नेपालखोज २०८१ चैत १३ गते १४:५०

भैरहवा (रूपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणअन्र्तगत अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १४९ रनको लक्ष्य दिएको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाएको हो ।

पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ३७ बलमा तीन चौक र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यसैगरी आरिफ शेषले २२ रन र गुलशन झाले १७ रन बनाएका छन् । बलिङतर्फ त्रिभुवन आर्मी क्लबका साहब आलमले चार विकेट लिँदा नरेन साउदले तीन, कुशल मल्ल र भीम सार्कीले समान एक-एक विकेट लिए ।

आठ खेल खेलेको पुलिस अहिलेसम्म अविजित रहँदै प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ । आठ खेल खेलेको आर्मी सात खेलमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनलमा पुगिसकेको छ । आजको खेल जुन समूहले हारे पनि फाइनल समीकरणमा यसको कुनै असर हुने छैन् । यही चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा यी दुवै समूहबीच उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया