पोखरामा भलिबल प्रतियोगिता हुँदै

कास्की । लायन्स क्लबले अन्तरराष्ट्रियस्तरमा १०७औँ र नेपालमा ५३औँ वर्ष पूरा भएको अवसरमा पोखरामा अन्तरराष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सामाजिक सेवामा समर्पित लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’, नेपालले पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कोर्टमा आगामी वैशाख १८ देखि २२ गतेसम्म पहिलोपटक अन्तरराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एम’का डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले प्रतियोगितामा विदेशीसहित कुल छ टोलीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने छन् भने इरान र भारतको टोलीसँग समन्वय भइरहेको छ ।
प्रतियोगिताको विजेता टोलीले रु चार लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु दुई लाख ४४ हजार ४००, शिल्ड, मेडल तथा ट्रफी हात पार्नेछ । तृतीय हुने टोलीले रु एक लाख ४४ हजार ४४४ शिल्ड, मेडल तथा ट्रफीद्वारा पाउनेछन् ।
प्रतिक्रिया