गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै

गण्डकी । गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ । अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए ।
नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो, उनले भने, मन्त्रिपरिषद्को निर्णयपछि स्तरोन्नतिको काम थप अगाडि बढ्ने छ । स्वास्थ्यमन्त्री पाठकका अनुसार प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ श्ययाबाट २५ श्ययामा स्तरोन्नति गर्न लागिएको हो ।
पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० श्ययामा स्तरोन्नति गरिने जनाउँदै उनले कास्कीस्थित २५ श्यया क्षमताको मातृशिशु मितेरी अस्पताललाई ५० श्ययामा पुर्याउने स्वास्थ्य मन्त्रालयको योजना रहेको उल्लेख गरे । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताललाई ५० बाट एक सय श्ययामा र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय श्ययामा स्तरवृद्धि गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए ।
आगामी आर्थिक वर्षदेखि धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालमा प्राविधिक शिक्षा पढाउने गरी पूर्वाधार तयारीका लागि काममा जुटेको उनले बताए । एक सय श्ययाको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ । प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० श्ययामा सञ्चालित छन् । प्रदेश सरकारले चालु आवमा गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई आफू मातहत लिई सञ्चालन गरिरहेको छ ।
स्थानीय तहअन्तर्गत दुवै अस्पताललाई ५० श्ययामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपीपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो । स्थानीय तहले बुर्तिबाङ र आँपपीपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत ल्याई सञ्चालन गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई सङ्घीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यी दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् ।
प्रतिक्रिया