शनिबार, वैशाख १३, २०८२

भलिबलको साख फर्काउने चाहनामा कप्तान अरुणा

नेपालखोज २०८१ चैत २३ गते ११:३२

कास्की । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेकी छन् ।

सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ । एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ ।

एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताइन् ।

प्रतियोगिता संयोजकसमेत रहेकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताइन् । एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउने जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख रूपैयाँ र उपविजेताले ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार रूपैयाँ र उपविजेतालाई २५ हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले पाँच हजार रूपैयाँ र सर्वोत्कृष्ट महिला खेलाडीले तीन हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान दुई हजार रूपैयाँ र महिलातर्फ समान एक हजार ५०० रूपैयाँ प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क छ हजार ५०० रूपैयाँ र महिलातर्फ तीन हजार ५०० रूपैयाँ तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताए ।

हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया