पोखरामा इन्जिनियर व्यवसायी दर्ताको परीक्षा सञ्चालन

कास्की । नेपाल इन्जिनियरिङ परिषद्ले काठमाडौँपछि पहिलोपटक पोखरामा इन्जिनियर व्यवसायी दर्ताको अनुमतिपत्र ९लाइसेन्स० परीक्षा सञ्चालन गरेको छ ।
पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा शुक्रबार र आज इन्जिनियरिङ विधामा स्नातक तह उत्तीर्ण भएका इन्जिनियरका लागि लाइसेन्स परीक्षा लिइएको हो ।
विसं २०७९ मा परिषद्ले पहिलोपटक परीक्षा सुरु गरेकामा सङ्घीयताको मर्मअनुसार परीक्षालाई राजधानीबाहिर विकेन्द्रित गरिएको नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्ट्रार तथा सदस्यसचिव शिवमङ्गल गिरीले बताए ।
उनका अनुसार इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियरिङ व्यवसाय गर्न लाइसेन्स परीक्षा पास भएर काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ ।
काउन्सिलको परीक्षा राजधानीबाहिर समेत सञ्चालन भएपछि विद्यार्थीलाई सजिलो भएको छ । यसबाट परीक्षाका लागि भनेर काठमाडौँ जानुपर्ने झन्झट र बाध्यता हटेको उनको भनाइ छ ।
पश्चिमाञ्चल क्याम्पसमा परीक्षाका लागि दुई सय ६७ विद्यार्थीले आवेदन दिएकामा दुई ५७ सहभागी भएका काउन्सिलका रजिस्ट्रार गिरीले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये एक सय ४७ जना उत्तीर्ण भएका छन् ।
काउन्सिल ऐन जारी भएपछि विसं २०७९ देखि परीक्षा लिन सुरु गरिएको थियो । परिषद्ले हालसम्म सातपटक परीक्षा लिइसकेको छ । काउन्सिलले कम्प्युटरमा आधारित भएर परीक्षा सञ्चालन गर्दै आएको छ ।
काउन्सिलले तीन महिनाको अन्तरमा वर्षमा चारपटक परीक्षा सञ्चालन गर्दै आएको छ । पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मलप्रसाद बरालले प्रविधिलाई प्रोत्साहन गर्दै परीक्षा सञ्चालन गर्न सफल भएको बताए । उनले यस परीक्षापछि क्याम्पस र कर्मचारीको आत्मसम्मान अझ बढेको उल्लेख गरे ।
परिषद्का बोर्ड सदस्य राममणि अधिकारीले काउन्सिल ऐनमा व्यवस्था भएअनुसार विकेन्द्रित प्रावधानलाई आत्मसात् गर्दै परिषद् अघि बढेक भन्दै पश्चिमाञ्चल क्याम्पसको प्रविधिले परीक्षालाई सहज बनाएको बताए । परीक्षार्थी सङ्गीता रिजालले पोखरामा परीक्षा दिन पाउँदा सजिलो भएको बताउनुभयो । समय र खर्च दुवै बचत भएको भनाइ उनको छ ।
इन्जिनियरका रूपमा काम गर्न इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तीर्ण हुनुपर्दछ । परीक्षामा उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले इन्जिनियरका रूपमा काम गर्न नपाउने व्यवस्था ऐनमा गरिएको छ । रासस








प्रतिक्रिया