विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन

कञ्चनपुर । ‘बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित यही वैशाख २ गतेदेखि सुरु हुने विद्यालय भर्ना अभियानका लागि कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिलाई खटाउने भएको छ ।
नगरपालिकाको कार्यपालिका बैठकको निर्णबाट वडागत रुपमा अभियानलाई सफल बनाउनका लागि सामुदायिक विद्यालयमा भर्नाका लागि जनप्रतिनिधि खटाइन लागेको हो । शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत अनिता ठगुन्नाका अनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्मलाई अभियानका लागि वडागत रुपमा जिम्मेवारीसहित खटाइएको छ ।
नगरपालिका क्षेत्रमा रहेका ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभिायनका लागि खटिने जनप्रतिनिधि र कर्मचारीको नामावली तयार गरी जिम्मेवारी तोकिएको छ । नगर प्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानालाई पनि जिम्मेवारी दिइएको छ ।
वडा वडामा घर घरमा पुगेर अभियानबारे जानकारी दिने कार्यसँगै सामुदायिक विद्यालयले प्रदान गर्दै आएको सेवा सुविधाबारे जानकारी दिइने उनको भनाइ छ ।
विद्यालयमा शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले विषयगत शिक्षकको व्यवस्था गर्ने कार्यँंगै विद्यालयको भौतिक पूर्वाधार विकास, फर्निचरको व्यवस्थापनको कार्य गरिएको बताए ।
विद्यालयको क्षमता अभिवृद्धि गर्नका लागि शिक्षा विद्हरुसँग छलफल गरी कमिकमजोरी सुधार गर्दै लैजाने कार्य भइरहेको उनको भनाइ थियो । अभियानसँगै नगरपालिका अन्तर्गतका जनप्रतिनिधिसहित सार्वजनिक पदमा रहेका व्यक्तिले अनिवार्य रुपमा आ–आफना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने नियम लागू गरिएको छ ।
प्रतिक्रिया