शुक्रबार, वैशाख १२, २०८२

कुन्तीको सन्देश- युद्धको विकल्प छैन

हरिविनोद अधिकारी २०८२ वैशाख ६ गते ६:००

महाभारतको युद्ध समाप्त भयो । सबैको इच्छा पुग्यो । धृतराष्ट्रको इच्छा, दुर्योधनको इच्छा, पाण्डवको इच्छा । कुन्तीले पनि शान्ति प्रस्ताव लिएर आएका आफ्ना भदाहा श्रीकृष्णसँग सोधेकी थिइन्—बाबु, के साँच्चै तिमी युद्ध रोक्न आएका हौँरु शान्ति सम्भव छ ररु विना युद्ध शान्ति कसरी बहाल होलारु युद्ध अर्थात् मेरा छोराहरूप्रति भएको अन्यायविरुद्धको विद्रोह अवश्यंभावी छैन ररु यदि उनीहरूको (युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव) शरीरमा मजस्ती क्षत्राणी र माद्री जस्ती क्षत्राणीको रगत बगिरहेको छ भने युद्ध गरुन् ।

यदि वीरगति प्राप्त भए क्षत्रीको गति सम्झेर म चित्त बुझाउँली र उनीहरूको वीरताको बखान गरुँली । तर युद्धबाट भाग्ने कोसिस नगरुन् । मेरो सन्देश यही हो । सके युद्ध जितून्, नसके अन्तिम युद्धमा जाँदा जे हुन्छ, त्यसको परिणाम मान्न तयार होऊन्। मेरा पाँचै भाइ छोराहरूमा, एक्लैले कौरवहरूलाई ध्वस्त पारेर हस्तिनापुर कब्जा गर्ने क्षमता छ, हतियारहरू सञ्चालन गर्ने सिप छ। उनीहरूले स्वीकार गरेको सर्त पनि पूरा भइसकेको छ ।

उनीहरूले अनावश्यक रुपमा बाह्रवर्षको वनबास पनि पूरा गरिसके, एकवर्ष गुप्तबास पनि पूरा गरे। उनीहरूको गुप्तबासमा कसैले चिनेका पनि थिएनन्। अर्थात् पितामह भीष्म, गुरु द्रोणाचार्य, दुर्योधनादि योद्धाहरूले जब अर्जुनलाई चिनेका थिए, त्यो बेला चान्द्रमासको गणनामा गुप्तबासको एकवर्ष पुगिसकेको सुनेकी छु ।

दरबारमा कुरा सुन्छु, उनीहरूको हकको इन्द्रप्रस्थ फिर्ता गर्नु त कता कता, सियोको टुप्पोजति पनि जमिन पाण्डवहरूलाई नदिने निर्णय भएको छ रे। महाराज धृतराष्ट्र आफू केही नबोल्ने तर सकेसम्म पितामहको मुखबाट त्यो आदेश गराएर पालना गराउने कूटनीतिमा लाग्नु भएको छ। पितामहले भने त्यो अन्याय हुन्छ, उनीहरूको भागमा सम्पूर्ण भारतवर्ष नै पर्ने हुनाले पाण्डुको उत्तराधिकारीलाई राज्य जिम्मा दिएर सबै भाइहरू मिलेर राज्य गरे हुन्छ भन्दै हुनुहुँदो रहेछ ।

तर महाराज धृतराष्ट्र बारम्बार पुरानो कुरा उठाएर आफूले किन राज्य सुम्पने भनेर, भाइले त पाएकै थियो नि, उ मरेर गयो र पो मेरो भागमा यो राज्य आएको हो। दुर्योधन मान्दै मान्दैन र भन्छ, बरु युद्ध गर्ने जसले जित्छ, त्यसैको यो भारत वर्ष हुन्छ। उसको मनमा लागेको छ, सम्पूर्ण भारतवर्ष महाराज धृतराष्ट्रको पक्षमा छ र पाण्डवका पक्षमा को पो लाग्ला ररु भन्ने सोचेको पाएकी छु। मेरो बारेमा मेरा छोराहरूले सायद केही सन्देश या बिन्ती गरेर पठाएका छैनन् होला तर मेरातर्फबाट भने सुनाई देऊ युद्धको विकल्प युद्ध मात्रै हो, शान्तिको प्रस्ताव त कुण्ठा छोप्ने बहाना मात्र हो।

गान्धारीको मनमा पनि आफ्ना सन्तानको जित होस् भन्ने चाहना त थियो तर उनी धर्मको पक्षमा थिइन् र भन्थिन्—कुन्तीका छोराहरूलाई अन्याय भएको छ, महाराजको स्पष्ट निर्देशन नभएकाले होला, दुर्योधनले सियोको टुप्पो बराबर जमिन पनि नदिन भनिरहेको रहेछ । युधिष्ठिरले त नम्रताका साथ भनेको रहेछ, इन्द्रप्रस्थको राज्य नदिए पनि पाँच गाउँ भने पनि दिए त हामी साना साना गाउँको राज्याधिकार लिएर बस्ने थियौँ तर दुर्योधनले महाराजको पुठ पाएर भनेछ, पाँच गाउँ त कहाँ हो कहाँ, एउटा सियोको टुप्पो जति पनि दिइने छैन । सक्छौ भने गर युद्ध, जित राज्य। मरे चपरीमुनिको बास, बाँचे हस्तिनापुरको राज। अनि दाजु शकुनि त थप्पडी मार्दै त्यो कुराको समर्थन गरेकोले पनि र भित्र भित्र युद्धको तयारी गरेकाले पनि दुर्योधनलाई पाण्डवहरू लड्ने छैनन् भन्ने विश्वास बढेको रहेछ ।

धृतराष्ट्र महाराजलाई एउटा कुरो स्पष्ट थियो, युद्ध यदि भयो भने स्वयं भीष्म पितामह पाण्डवका पक्षमा मानसिक रुपले लाग्नु हुनेछ तर माता सत्यवतीलाई दिएको बचन अनुसार हस्तिनापुरको पक्षबाट युद्ध लड्न बाध्य हुनुहुन्छ। कोसँग को लड्नेरु अनि यदि दुर्योधनको यो ढिपीले युद्ध हारियो भने ? युद्ध हार्नु भनेको आफू, सयभाइ छोराहरू, पितामह, गुरुहरू द्रोणाचार्य,कृपाचार्य कर्ण समेत सबैको अन्त्य हुनु पनि त हो। अनि युद्ध जित्नु भनेको पाण्डवहरूको हत्या गरिनु हो। उनीहरूको जाने केही पनि छैन तर आफ्नो त राज्य जानेछ, छोराहरू मारिने छन् र आफू पनि मारिने सम्भावना छ। उनको मन द्विविधामा थियो, कसरी आफ्नो पक्षमा परिणाम पनि आउने छ, कसरी पाण्डवहरूको हक मारेर पनि, उनीहरूको पक्षमा निर्णय गर्न खोज्दाखोज्दै पनि, दुर्योधनले नमानेर महाराजले दिन नसकेको भन्ने पार्ने।

बारम्बार महामन्त्री विदुरले सम्झाउँदा पनि महाराजको मनमा एउटा दृढता देखिन्थ्यो कि, एउटा विश्वास जमेको पाइन्थ्यो कि युधिष्ठिर हिंसाको पक्षमा छैन र मेरो विरोधमा युद्ध गर्ने हिम्मत गर्नेछैन। उनको स्वभाव पनि उस्तै थियो। बारम्बार भन्ने गर्थे कसलाई मारेर म राजा हुने हो ररु बाबुलाई मार्ने, भाइहरूलाई मार्ने, छोराहरूलाई मार्ने अनि म राज्य गर्नेरु युधिष्ठिरको यो कमजोरी थाहा पाएका महाराज धृतराष्ट्र, युवराज दुर्योधन, राजकुमार दुःशासन खुलेयाम भन्ने गर्थे, पाण्डु काकाका ती छोरा नै होइनन् अनि हामीले किन राज्यको भाग दिनेरु यहाँ कर्णको ढाढस दुर्योधनमा रहेको बिर्सनु हुँदैनथ्यो तर शकुनिमा भने कौरवको कसरी नाश गर्ने भन्ने कुराको भित्री इच्छा पूरा गर्न पनि युद्ध अवश्यंभावी थियो। यदि युद्ध नै भएन भने महाराज सुबलको सहादत बेकार जान्थ्यो र लामो प्रतीक्षाको परिणाम शून्य हुने डर थियो। त्यसैले गान्धार नरेश शकुनिको प्रयास थियो, युद्ध होस्।

महामन्त्री विदुर आफू हतियार चलाउँदैनथे तर अर्ती उपदेश दिएर नयाँ भारतवर्षको स्थापना गर्न चाहन्थे किनभने कलीयुगको आरम्भमा पनि जनताले आफूलाई धर्मप्रति आस्थावान पाऊन्। महात्मा विदुर युद्धको कुरा भन्दा पनि पाण्डवको हक अधिकारको पक्षमा थिए र उनलाई भावी परिणाम थाहा थियो। हस्तिनापुरको यो द्विविधा भन्दा पनि अधर्ममा आफू सहभागी हुन चाहँदैनथे। तर भीष्म पितामहको मनोविज्ञान अत्यन्त वहुचिन्तामा अल्झेको थियो।

पितामह युद्ध पनि नहोस् भनेर कौरवहरूलाई, पाण्डवहरूलाई तत्काल उनीहरूको पुरानो राज्य दिन सम्झाउँथे र डर पनि देखाउँथे—ती पाँच भाइ त संयमित भएर मात्र हो, एक्लै नै हामी सबैलाई जित्न प्रशस्त छन्। झन वसुदेव पुत्र वासुदेव उनीहरूको पक्षमा छन्, ती कृष्ण त यस्ता छन् कि धर्मको पक्षबाहेक कतै लाग्दैनन्। यति धेरै कूटनीतिज्ञ, योद्धा र विवेकी छन् कि उनको रणनीतिसँग कसैको केही लाग्दैन। अनि आफैँलाई धिक्कार्दै भन्थे—हे महाराज शन्तनु, हे माता सत्यवती, हे मेरा पितृ भइसकेका भाइहरू, भन त अब म यो माखेसाङ्लोबाट कसरी पार पाउँरु धर्म एकातिर छ, म अर्को अधर्मतिर बाध्यतावश बाँधिएर बसेको छु, हुनसक्छ अधर्मको पक्षमा लागेर धर्मको पक्षविरुद्ध लड्नु पो पर्ने हो किरु

गुरु द्रोणको कुरा बेग्लै थियो। चिरञ्जीवी छोरो अश्वत्थामाको बाबु भएका नाताले आफ्नो चिन्ता कम तर छोराको चिन्ता बढी थियो किनभने छोरो दुर्योधनको अत्यन्त निकट थियो र भन्ने गर्थ्यो, म एकैजनाले यो युद्ध जित्ने छु। झन कर्ण त छँदैछन्।कौरव पक्षमा आतङ्कको नाम अर्जुन थियो र कर्णले अर्जुनलाई रोक्ने आड भरोसामा युद्ध लड्ने जोड दुर्योधनको थियो। अश्वत्थामामा पनि युद्ध लडेर दुर्योधनलाई राजा बनाएर उनको मित्रता अरु सुदृढ पार्ने भित्री इच्छा थियो। तर अश्वत्थामालाई पनि के थाहा थियो भने पिता द्रोणाचार्यले पाण्डवहरूको हत्या गर्ने छैनन्। भीष्म पितामह, कृपाचार्यले पनि पाण्डवहरूको विरुद्धमा हतियार उठाउने सम्भावना थिएन। उता भीमले धृतराष्ट्रका सय भाइ एक्लैले मार्ने प्रण गरेको सुनिएको हो।

यी युद्ध मनोविज्ञानको रणनीतिलाई विदुरको घरमा बसेर नियाली रहेकी कुन्तीले आफ्ना भदाहा कृष्णमार्फत् कडा सन्देश पठाउन बाध्य भइन् —युद्धको विकल्प छैन, क्षत्राणीले युद्ध गरेर राज्य विस्तार गर्नका लागि छोरा पाउने हो, या त त्यो छोरो युद्धमा वीरगति पाउने हो, या त राज्य विस्तार गरेर प्रजाको हितमा आफ्नो जीवन व्यतीत गर्ने हो।

कृष्णको इसारा स्पष्ट थियो कुन्तीसँग, दिदी तपाईँको आदेश कसले पो नमान्ला र पाण्डवहरूमध्येमारु मेरो काम स्थितिको अवलोकन, विश्लेषण र परिणामप्रति सबैलाई सजग गराउने हो। स्थिति समालिन सकेको छैन र युद्धको तयारी दुवैतर्फबाट तीब्रताका साथ भइरहेको छ।

कुन्ती ढुक्क भइन् युद्ध अवश्यंभावी रहेछ। धृतराष्ट्र दङ्ग परेका थिए युद्ध अवश्यंभावी रहेछ। दुर्योधन खुसी थियो युद्ध अवश्यंभावी रहेछ। अनि द्वापर युगको पृथ्वीको भार समाप्त पार्न आएका कृष्ण पनि ढुक्क थिए कि युद्ध अवश्यंभावी भएको छ र शकुनि खुसीले नाच्दै थिए अब युद्ध हुने नै भएको छ।

युद्धको परिणाम कति भयावह छ भन्ने कुरामा सायदै कसैको पनि ध्यान गएको थिएन र त युद्धको अन्तमा रानीहरू आफ्ना छोराहरूको मृत्युमा रोइरहेका थिए र युद्धको जित मान्नु पर्ने पाण्डवहरू पितामहको शरशय्यामा लडेको शरीर वरिपरि बसेर रोइरहेका थिए। आखिर युद्ध एउटा कारण थियो जसको ओखती शान्तिमात्र हुन्थ्यो तर शान्तिप्रति ओठभक्ति सबैले राख्थे तर त्यसको पक्षमा कोही पनि लाग्न सक्दैनथ्यो।

श्रोतस् आइएनएस/स्वतन्त्र समाचार

प्रतिक्रिया