चाडमा १०० भन्दा बढी कैदी कारागारबाट भागे

मोङ्गो (चाड) । अधिकारीहरूले शनिबार एक गोलीकाण्डमा एक सयभन्दा बढी कैदी चाड कारागारबाट भागेको बताएका छन् । सो क्रममा तीन जनाको मृत्यु भएको थियो भने कारागार भ्रमण गर्ने राज्यका गभर्नर घाइते भएका थिए ।
देशको मध्यमा रहेको मोङ्गो सहरबाट पाँच किलोमिटर टाढाको उच्च सुरक्षा कारागारमा विद्रोह हुँदा शुक्रबार राति उक्त घटना भएको हो ।
‘त्यहाँ करिब एक सय जना भागेका छन्, तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्’, मोङ्गो अवस्थित गुयेरा प्रान्तका महासचिव हसन सुलेमाने एडमले भने ।
एक स्थानीय मोङ्गो अधिकारीले नाम नछाप्ने सर्तमा कैदीहरूले बन्दुक चोरी गर्न प्रबन्धकको कार्यालयमा प्रवेश गरेको बताए । ‘त्यसपछि गार्डहरूसँग गोली हानाहान भयो, त्यही समयमा गभर्नर आइपुगे । उनी घाइते भए’, उनले भने ।
मोङ्गो अधिकारीले त्यहाँ तीन जनाको मृत्यु भएको पुष्टि गरे र भागेका कैदीहरूको कुल सङ्ख्या एक सय ३२ रहेको बताए ।
खानाको अभाव भएको गुनासो गरेपछि कैदीहरूले विद्रोह गरेको उनले बताए ।
चाडका न्यायमन्त्री युसुफ टोमले यस क्षेत्रमा उड्न लागेको जानकारी दिँदै भने, ‘आउँदो घण्टामा म मोङ्गोमा पुगेपछि सटीक जानकारी दिन सक्षम हुनेछु ।’ रासस/एएफपी
प्रतिक्रिया