केमन आइल्याण्डमा नेपाली दूतावासको घुम्ती शिविर

लन्डन । बेलायतस्थित नेपाली दूतावासले त्यहाँको केमन आइल्याण्डमा पहिलोपटक मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) आयोजना गरेको छ । दूतावासको एक टोलीले हालै त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्न शिविर आयोजना गरेको हो ।
सिभिक सेन्टरस्थित जर्ज टाउन हलमा आयोजना गरिएको शिविरमा एक सयभन्दा बढी नेपालीले राहदानी नवीकरण, कागजात प्रमाणीकरण, प्रवेशाज्ञा तथा अन्य कन्सुलर सेवा प्राप्त गरेको दूतावासले जनाएको छ । दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरूलाई नवीकरणका लागि आव्हान गरेको थियो ।
केमन आइल्याण्डमा करिब तीन हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका दूतावासको अनुमान छ । जसमध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत छन् ।
यसैगरी, यही अप्रिल ३० तारिखमा पनि आयरल्याण्डमा गैरआवासीय नेपाली सङ्घ आयरल्याण्डको सहकार्यमा शिविर आयोजना गर्न लागिएको जनाएको छ । रासस
प्रतिक्रिया