शनिबार, वैशाख १३, २०८२

कानुन विषय अध्यन गर्दै थारू समुदायका छात्रा

नेपालखोज २०८२ वैशाख ७ गते ९:४४

तुलसीपुर (दाङ) । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छिन् । मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन, उनले भनिन्, तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित एक निजी कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उनी त्यही पढिरहेका छन् । उनको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने । सकेसम्म न्यायाधीश बन्ने इच्छा हो, त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो, उनले भनिन् ।

तुलसीपुर–११ निवासी सरु चौधरीको पनि अवस्था उस्तै नै हो । उनलाई घरबाट पढाइ खर्च पुर्याउन हम्मेहम्मे पर्छ । तर, उन-को इच्छा कानुन विषय पढ्नै रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरहेकी छिन् । उनीहरू दुवै जनाले अहिले आठौँ सेमेस्टरको अध्ययन गरिहेका छन् ।

दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर, दाङमै कानुन विषय पढेका महिला विरलै छन् । यसले पनि उनीहरूलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । कानुन पढेका थारू समुदायका महिला त थुप्रै छन्, तर, महिलाहरु विरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौँ, भनिन् । कानुन विषय पढ्न चार लाखको हाराहारी खर्च लाग्छ ।

उनीहरूलाई हौसला दिने काम गर्नुभएको छ, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले । उनले आर्थिक तथा अन्य सहयोग गर्दै आएका छन् । जिल्लामा कानुन विषय पढेका महिलाको सङ्ख्या विरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर मैले सुरुदेखि नै सहयोग गर्दै आएकी छु, उनले भनिन्, मेरै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको छु ।

कानुन पढ्नेलाई मात्र होइन, अन्य विद्यार्थीलाई पनि सहयोग गरेको उनले बताइन् । तुलसीपुर–१० निवासी निरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि पढ्नका लागि आर्थिक सहयोग गर्दै आएकी छिन् । विगत लामो समयदेखि उनले आर्थिकसहित शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आउनुभएको छ । उहाँले यस्ता आर्थिक अभाव भएका विद्यार्थीलाई सहायता दिँदै आएको बताइन् ।

प्रतिक्रिया