शुक्रबार, वैशाख १२, २०८२

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

नेपालखोज २०८२ वैशाख ८ गते १७:०२

तनहुँ । व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट खानेपानी योजना अधुरै रहेको छ । निर्माणमा संलग्न व्यवसायीको लापरवाहीका कारण उक्त योजना समयमै निर्माण गर्न नसकिएको हो । भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना निर्माण गर्न लागिएको हो ।

निर्माणको ठेक्का पाएको ‘पराजुली कन्स्ट्रक्सन’का सञ्चालक सतिश पराजुलीले निर्माण कार्य बाँकी छाडेर सम्पर्कबिहीन भएपछि उक्त योजना सम्पन्न हुन नसकेको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादी नदी लिफ्ट खानेपानी योजना अघि बढाइएको थियो ।

विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा उक्त योजनाबारे सम्झौता भएको व्यवस्थापक श्रेष्ठले बताउनुभयो । उक्त योजनाको हालसम्म करिब ८० प्रतिशत भौतिक प्रगति रहेको छ । तीन पटकसम्म योजना निर्माणको म्याद थप गरिसकेका छौँ, उनले भने । व्यवस्थापक श्रेष्ठका अनुसार अमिलीभञ्ज्याङमा चार लाख लिटर क्षमताको रिर्जभ टयाङ्की निर्माण गरिएको छ । तर भदु्रमा ५० हजार लिटर क्षमताको टयाङ्की निर्माण कार्य अधुरै छ ।

प्रतिक्रिया