‘जनता आवास’ प्रयोगविहीन

सिरहा । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् ।
सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ ।
यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको कार्यक्रमका प्राविधिक रवीन्द्र यादवले बताए ।
‘तीन घर परिवारको लालपुर्जा नभएका कारण घर बन्न सकेको छैन’, उनले भने, ‘पालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा उनीहरू जान नमानेपछि समस्या भएको हो । बनेका घरहरू सम्बन्धित व्यक्तिलाई दुई वर्षअघि हस्तान्तरण गरिसकिएको छ ।’ उनका अनुसार एक घर निर्माण गर्न जनता आवास कार्यक्रमले रू तीन लाख ३२ हजार अनुदानमा उपलब्ध गराएको थियो ।
यो कार्यक्रम सञ्चालन गरिँदा कतिपय डोम परिवारले जमिन खोज्दै घर निर्माण गर्नुभएको थियो । आफ्ना नाममा जमिन नहुनेहरूले अर्कासँग जमिन खरिद गरी घर निर्माण गरेका थिए । यिनैमध्येका एक हुन् कैला मरिक । बाटो, बिजुली, खानेपानीको सुविधा नभएकाले बस्न नसकेको मरिकको भनाइ छ ।
पटकपटक उक्त घरमा सर्न आग्रह गरे पनि उनीहरू नमानेको वडाको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष विनोदकुमार यादवले डोम परिवार बजार छोडेर वरपर जानै नमान्ने गरेको गुनासो गरे । उनले भने, ‘यदी उनीहरू उक्त घरमा बस्ने सुनिश्चित भए वडाले तत्कालै बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिन्छ । तर जाने निश्चित उनीहरूले गर्नुपर्छ । हामीले लगानी गरेर उनीहरू गएनन् भने वडाको लगानी पनि बालुवामा पानी सरह हुने भयो नि ।’
वडाध्यक्ष यादवका अनुसार यहाँका डोम समुदाय बाँसबाट बुनेका सामग्री बनाउने र बजारमा बेच्ने हुँदा उक्त स्थान छोड्न नमान्ने प्रवृत्ति रहेको छ । हुलाकी सडक विस्तारको काम पुनः सूचारू हुँदा डोम समुदायले अहिले वसोबास गरिरहेको थातथलो पनि छोड्नुपर्ने अवस्था आउने र त्यो बेला उक्त घरहरू प्रयोगमा आउन सक्ने उनले बताए ।
यहाँका स्थानीय जनता आवस कार्यक्रमले कतिपय घरहरू पूर्णरूपमा निर्माण नै नभई जीर्ण भएको भन्दै सरकारको लगानी बालुवामा पानीसरह भएको बताउँछन् । घर निर्माण भइसकेपछि केही डोम परिवार निकै हर्षित भए भने आधा दर्जन बढी घरहरू बेवारिसे र जीर्ण बने । यसको उपयोगिताको लागि पालिकाले ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया