मनमोहन स्मृति क्रिकेट : एपिएफ क्लब विजयी

मोरङ । मनमोहन फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको समूह ‘ए’ अन्तर्गत दोस्रो खेलमा एपिएफ क्लबले बागमती प्रदेशलाई आठ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा १९ दशमलव तीन बलमा सवै विकेट गुमाई ८० रन मा बनायो ।
एपिएफ क्लबका लागि प्लेयर अफ दी म्याच प्रकाश जैशीले चार विकेट लिए । यस्तै हविषेश गौतमले तीन र भोजराज भट्टले दुई विकेट लिए । एकासी रनको लक्ष्य एपिएफ क्लबले नौ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
एपिएफ क्लबका लागि दिपक बोहराले ३५ बलमा तीन छक्का र पाँच चौका प्रहार गर्दै अविजित ४८ रनको योगदान दिए । बलिङतर्फ बागमतीका असिम श्रेष्ठले दुई विकेट लिए । सोमबार समूह ‘ए’ आर्मी क्लब र बागमती प्रदेशबीच खेल हुने छ ।
प्रतिक्रिया