लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३५० मिलिग्रामसहित बेलवारी नगरपालिका-४ बस्ने २८ वर्षीय बिपुल बिष्टलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४० प ८६१९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने बाजुरा बुढीगंगा नगरपालिका-१० घर भएका २२ वर्षीय सुरेश सार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको झापा गाँउपालिका-४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८९० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका-४ बस्ने ३७ वर्षीय मोहमद कादिर र सोही नगरपालिका-१ चैती चोक बस्ने २१ वर्षीय अनिल ताजपुरिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया