रातो मच्छिन्द्र रथारोहण

काठमाडाैं । ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । हरेक वर्ष बैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पु¥याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ ।
मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ । पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ ।
मूर्तिलाई रथमा राखेको तीन दिनमा रातो मच्छिन्द्रनाथ रथ तानेर पुल्चोकमा राखिन्छ । त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ । मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ ।
जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा पु¥याई विराजमान गराइन्छ ।
उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ ।
प्रतिक्रिया