‘बलिदान’ को प्रि-टिजरले युट्युब ट्रेन्डिङमा तहल्का : नेपालमा पहिलो, दर्जन बढी देशहरूमा ट्रेन्डिङमा

काठमाडौं । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को प्रि-टिजर सार्वजनिक भएको केही घण्टा देखि नै युट्युब ट्रेन्डिङको शीर्ष स्थान बनाएको छ । यसका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको यो भिडियोलाई दर्शकले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन् ।
यसैबीच, प्रि-टिजरले समाचार तयार पार्दासम्म ५ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ र विदेशमा समेत उत्तिकै चासोपूर्वक हेरिएको छ । विशेषतः नेपालीको बाक्लो बसोबास रहेका युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, र दक्षिण कोरिया लगायतका मुलुकमा पनि प्रि-टिजर ट्रेन्डिङमा रहेको छ ।
देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहितको प्रि-टिजरमा अभिनेता समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ । “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई…” जस्ता संवादहरूले दर्शकमा राष्ट्रिय भावना झन् गहिरो बनाएका छन् । भिडियोकै अन्त्यतर्फ समीरको चिच्याहटले दृश्यलाई अझ सशक्त बनाएको छ ।
निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’ समीर भट्टको बहु आयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो । आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।
ट्रेन्डिङमा देखिएको यो उपस्थिति र दर्शकको उत्साहजनक प्रतिक्रिया हेर्दा ‘बलिदान’ नेपाली दर्शकमाझ मात्र नभई विश्वभर रहेका नेपाली समुदायमाझ पनि प्रतीक्षित चलचित्र बन्ने स्पष्ट सङ्केत देखिएको छ ।
प्रतिक्रिया