राष्ट्रिय महिला हक्कीमा गण्डकीको दोस्रो जित

काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ ।
ललितपुरको च्यासल फुटबल मैदानमा आज भएको महिलातर्पmको खेलमा गण्डकीले मधेस प्रदेशलाई २–१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेसकी गीताकुमारी म्रिङचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् ।
राउन्ड रोविन लिगको आधारमा भइरहेको महिलाको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । महिलामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोली सहभागी छन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।
लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराएको थियो । मधेसको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ । मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो ।
पुरुषतर्पm आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की सङ्घको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को सहज जित रच्यो । आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे । ‘प्लेयर अफ द म्याच’ राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे ।
आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना गर्यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेस भने कोसीसँग चुकेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ । समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेस र कोसी प्रदेश छन् ।
पुरुषकै समूह ‘बी’को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए । बागमतीका समिर घिमिरेले एक गोल गरे ।
प्रतिक्रिया