नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले पाउने छन् १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ ।
बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाइँले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार अब नबिल बैंकका सेवाग्राहीले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए । समझदारीपछि नबिल बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधा पाउने बैंकले जनाएको छ ।
यस सहकार्यबाट भारतमा विशेष स्वास्थ्य सेवा लिन चाहने नेपाली बिरामीले अस्पतालमा डाक्टर छनोट गर्न र यात्राको व्यवस्थापनमा भोगिरहेको समस्या समाधानमा सहयोग पुग्नेमा बैंकले विश्वास गरेको छ । ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागू हुने जनाइएको छ ।
अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो । जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीसहित काठमाडौँको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ । नबिल बैंक र बैंकले उपलब्ध गराउँदै आएका विशेष छुटबारे जानकारी लिन बैंकको वेबसाइट मा हेर्न सकिन्छ ।
नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।
प्रतिक्रिया