बिहीबार, वैशाख २५, २०८२

निरोगी नेपालको महासङ्कल्प र कुष्ठरोग निवारण

नेपालखोज २०८२ वैशाख २५ गते १५:३५

कुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह छ, भन्न मिल्दैन किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको सङ्ख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौँ । यथार्थ के हो भने हाम्रो देशमा उन्मूलन भएको छैन ।

यस्ता कार्यक्रमले जनचेतना जगाउने कुरामा मद्दत गर्छ । खासगरी आजको कार्यक्रम कुष्ठरोग र त्यसको निवारणसम्बन्धी रहेको छ । यसमा के कस्तो कदमहरू चाल्न आवश्यक छ, सरकारी तबरबाट के कस्ता नीति निर्माण गर्न आवश्यक छ, कानुन बनाउन आवश्यक छ, व्यावहारिक कदम कस्ता चाल्न आवश्यक छ, रोगको पहिचान र उपचारको सन्दर्भमा के गर्न जरुरी छ र सामाजिक जनचेतना र अपहेलनाबाट मानिस प्रताडित छ, उसको पीडा कसरी हटाउने भन्ने सन्दर्भमा केही गर्नुपर्छ भन्ने एउटा साझा सङ्कल्प, अठोट र त्यसका निम्ति भएका प्रयासहरू अगाडि बढाउन सजिलो अवश्य पर्छ ।

मधेस, कोशी र लुम्बिनी प्रदेशमा यसका अलिबढी असरहरू छन् र केही जिल्लामा यो अलिक बढी मात्रामा छ । यस स्थितिमा हामी सन्तुुष्ट हुन सक्दैनौँ । यस रोगलाई निवारण गरिछाड्ने हाम्रो प्रयासलाई अझ गतिशील र प्रभावकारी ढङ्गले अगाडि बढाउन जरुरी छ । यसका निम्ति मेरो अर्को पनि सुुझाव छ, अहिलेसम्म हामी जुन ढङ्गले ‘एलोपेथिक’ औषधिमा भर परिराखेका छौँ, यसलाई आयुर्वेदिक औषधिले पनि ठीक गर्न सक्ने, यसको अनुसन्धान हुन जरुरी छ । किनभने आयुर्वेदिक औषधि भनेको प्रकृतिसँग र प्रकृतिको जीवनको ‘इकोसिस्टम’सँग सम्बन्धित छ ।

जुन पनि रोग लाग्छ, त्यस रोगलाई निको पार्न सक्ने कुरा फेरि प्रकृतिमै निहीत छ । औषधि पनि प्रकृतिमै निहीत छ । खानामै निहीत छ । यसलाई खाली पत्ता लगाउन जरुरी छ, कुन चिजबाट यो रोग पैदा हुन्छ र कुन चिजबाट यो रोगको अन्त्यत हुन्छ । यसको प्रयोग र परीक्षण गर्न आवश्यक छ । यसमा एलोपेथिक ढङ्गले निवारणको उपायहरू पत्ता लागेको छ तर आयुर्वेद यसमा प्रभावकारी छ । हामीले उहिलेदेखि आयुर्वेदको साहरा लिने गरेको थियौँ, अहिले अलिकति कमजोर भएको छ । यसलाई परम्परागत र आयुर्वेदिक औषधि विज्ञानको पक्षलाई विकास र अनुसन्धान गर्दै उपचार विधिमा जान जरुरी छ ।

हामी निरोगी नेपालको महासङ्कल्पमा छौँ । यो स्वास्थ्य क्षेत्रको महासङ्कल्प हो निरोगी नेपाल । हामी सिङ्गै नेपाललाई निरोगी नेपाल बनाउन चाहन्छौँ । पहिलो कुरा, नेपालमा कोही पनि रोगी र बिरामी हुँदै नहोस् । यसका निम्ति रोग लाग्ने परिस्थिति र अवस्था आउनै नपाओस् । मान्छेको स्वास्थ्य कमजोर भयो भने ‘इम्युन सिस्टम’, प्रतिरोधी क्षमता कमजोर भयो भने रोग लाग्छ । त्यसकारण मान्छेहरूको ‘इम्युन सिस्टम’ नै कमजोर नहोस् । यसका निम्ति पनि उपायहरू गरौँ । खानपिन पेट भर्नका लागि मात्रै होइन, सन्तुलित खानपिन र स्वास्थ्यका लागि उपयोगी खानपिन, लाभदायी खानपिन गरौँ, जस्तो पनि होइन । स्वास्थ्यका लागि खानपिन खाऔँ । हामीले आफ्नो आनीबानी पनि ठीक गर्नुपर्दछ । स्वास्थ्य र स्वस्थ रहनका लागि खानपिन हो भन्ने कुरा थाहा पाउनुपर्छ । हाम्रा कतिपय आदतले पनि हामीलाई बिरामी बनाउँछ ।

हाम्रा आदतहरू पनि सच्याउन जरुरी छ । त्यसमध्ये खानपिनको आदत, रहनसहनको आदत सच्याउन जरुरी छ । मान्छेले कुनै पनि श्रम गरेन, व्यायाम गरेन भने मान्छे बिरामी हुन्छ, कमजोर हुन्छ, ‘इम्युन सिस्टम’ कमजोर हुन्छ । ती पक्षहरू आहार–सन्तुलित, समयमा, उपयुक्त, विहार, व्यायम र काम एउटै कुरा हो । जसले पाचन प्रणालीलाई पनि ठीक गर्छ । आजकाल आर्शिवाद दिँदा तिम्रो पाचन प्रणाली ठीक होस् भन्ने चलन छैन । उहिलेउहिले तिम्रो पाचन प्रणाली ठीक रहोस् भन्थे ।

स्वास्थ्य रहनका लागि एकदम आवश्यक छ–पाचन प्रणाली । होइन भने न भोक लाग्छ, त्यसपछि न निद्रा लाग्छ, न प्रतिरोध क्षमता हुन्छ । पाचन प्रणाली कसरी ठीक हुन्छभन्दा प्रशस्त काम गर्यो, थकाइ लाग्यो, मस्त निदायो र आराम गर्यो, त्यसपछि पाचन प्रणाली ठीक हुन्छ । काम गरेन भने भोक लाग्दैन, खान रुच्दैन, पाचन प्रणाली ठीक हुँदैन । आन्द्रा भुँडी नै चलिराखेको हुँदैन, विस्तारै अल्छि लागेर चल्छ, कहाँबाट भोक लाग्ने त्यसकारण पहिलो कुरा स्वस्थ रहने हो भने हामी हरेक आफैँ पनि सचेत हुन जरुरी छ । हामी सचेत रहेर आफ्नो स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने रु फेरि पनि कुनै न कुनै रोग ‘ट्रमा’जस्ता आइपर्न सक्छन् । धेरै कुरा त आइनपर्ने विधि गर्न सकिन्छ ।

शरीरका सबै बाह्य र आन्तरिक अङ्ग–प्रत्यङ्ग अवयवलाई स्वस्थ र तन्दुुरुस्त राख्ने उपाय छन्, तिनीहरूलाई अपनाउन सकिन्छ, काबुुबाहिरको परिस्थिति परेन भने । जस्तो मेरो मिर्गौला किन खराब भयोभन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट हुन्छ ? चिसो गोलघरभित्र भूइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ रु नेल हत्कडी लगाएको छ, घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर ‘टिटानस’ आदि इत्यादि भएन संयोगको कुरा हो ।

त्यसबेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर । दाँत हामी कसरी सफा गर्दथ्यौँ भने एउटा ब्रस किन्यो, त्यो पनि महङ्गो किन्न सकिदैनथ्यो, सस्तो किन्यो । दुुई÷चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ । ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दाँतमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिदैनथ्यो । मुख बाङ्गो पारिपारिकन ब्रस गर्नुपर्दथ्यो । ‘टुुथपेस्टको ट्युुव’ हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदानिर्चोदा…. नयाँ किनौँ पैसा छैन, त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ १ ती दिन नसम्झिऔँ, सम्झिदा अलिअलि रमाइलो पनि लाग्छ । तर, त्यहाँ कहाँबाट स्वास्थ्य राम्रो हुनु ?

मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, ‘अल्सर’ भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनुु रु पेटभरि घाउ भएर दुुखेर असैह्य हुन्छ । भत्भति पोल्छ, घाउँबाट रगत आउँछ । ‘पेनकिलर’ दिन्छ, त्यो खाँदाखाँदा ‘किड्नी फेल’ नभएर के हुन्छ त १ मेरो ‘किड्नी फेल’ हुनुको अर्थ ‘पेनकिलर’ले हो । सहनै नसकेर ‘पेनकिलर’ खाएको छ । अहिले नै मरियो भने पछि के गर्ने, पछि उपचार जे सुकै भए पनि के गर्ने रु अहिले बाँची हालौँ, ‘पेनकिलर’को असरपछि हेरौँला भनेर । यस्ता काबुबाहिरका परिस्थिति बेग्लै कुरा हो, काबुुका परिस्थिति त्यसबेला पनि हामी कसरी स्वास्थ्य जोगाउन सकिन्छ भनेर उपाय गदथ्यौँ । त्यहाँभित्र व्यायाम गर्ने, व्यायाम गर्ने पनि हविगत हुँदैनथ्यो । त्यही पनि स्वास्थ्य जोगाउन हामी कोसिस गर्दथ्यौँ । हामी हरेकले स्वास्थ्य जोगाउन कोसिस गर्नुपर्छ ।

ग्रामीण चेतनाको स्तर के थियो भने झापा जिल्लामा मेरो घरभन्दा परतिर बाटो थियो र बाटोभन्दा पारितिर स्थानीय आदिवासीको एउटा बस्ती थियो । त्यहाँ हरेक वर्ष केही व्यक्तिहरूको बिफरका कारणले निधन हुन्थ्यो । उनीहरू खोप लगाउन नमान्ने, खोप नलगाएपछि बच्चा अवस्थामा बिफर लाग्थ्यो । पहिला नलागेका मान्छे थिए भने तिनीहरूलाई त लाग्योलाग्यो । बिफर लागिसकेकालाई बरु लाग्दैन, नलागेकालाई लाग्योलाग्यो । मैले भ्याक्सिन लिएर गाउँमा आउँदैछु भन्ने थाहा पाएपछि गाउँका मान्छे गाउँ छोडेर भागे । बालबच्चा च्यापेर अलिक टाढा अर्को गाउँमा गएछन् ।

म बेलुका गएर सम्झाउन खोजें, यस्तो हो बाँचिन्छ भनेर तर मानेनन् । मैले भनेँ, मेरो कबुल र प्रतिबद्धता भयो कि तपाईंहरूलाई भ्याक्सिन लगाइँदैन, तपाईंहरू गाउँमा गएर बस्नुस् । त्यो सुनिश्चित गरेपछि उनीहरू बल्ल गाउँमा फर्किए । त्यत्रो आतङ्क थियो, खोप लगायो भने भगवान रिसाउँछन् र हामी बर्बाद हुन्छौँ भन्ने । फेरि त्यही वर्षमा केही मान्छे त्यहीँ गाउँमा बिते । मैले धेरै कोसिस गर्नुपर्यो कि हामीले भ्याक्सिन लगायौँ, तपाईंहरूले लगाएन, यताको गाउँमा सरेन, यताको गाउँमा रोग आएन, यताको गाउँमा आयो, तपाईंहरूकोमा मान्छे यसरी मरे अब भ्याक्सिन लगाउनु पर्छ भनेपछि बल्ल बिफर निवारण भयो । यस्ता उपायहरू हामी धेरैले गर्यौँ होला । तराईमा ‘मलेरिया’ले भुसुक्कै मान्छे मर्दथे । मलेरिया उन्मूलन भयो । त्यसकारण उन्मूलन गर्न सकिन्छ । निको नहुने रोग कुनै छैन । निको नहुने ‘स्टेज’मा पुग्यो भने मात्रै बेग्लै कुरा हो नत्रभने निको नहुने रोग भनेको कुनै छैन । सबै रोग निको हुन्छ र हामी निको पार्न सक्छौँ ।

यस सन्दर्भमा सरकारले गरेका प्रयास बहुत राम्रा छन् । स्याङ्जाको मालुुङ्गा हो क्यार ठाउँको नाम, मालुङ्गामा कुष्टरोग क्याम्प थियो । कुष्टरोगका बिरामीलाई निको पार्ने क्याम्प खडा गरिएको थियो । मलाई २०३९ सालमा काठमाडौंबाट पोखरा जेलमा लगियो । मालुङ्गा गाउँतिरका मानिस त्यहाँ थिए र त्यसमध्ये एक–दुई जना कुष्टरोग सङ्क्रमित पनि थिए । उनीहरूलाई कुष्टरोग थियो र त्यहीँ उनीहरूलाई औषधि पनि दिइन्थ्यो । मैले उनीहरूबाट कुष्टरोगका सम्बन्धमा यथार्थ जान्ने मौका पाएँ । यो कस्तो हो र कस्तो अवस्थामा सर्छ, सर्दैन । कुष्टरोग हटिसकेको थिएन तर उनीहरू सङ्क्रामक अवस्थाबाट मुक्त भइसकेका थिए ।

सङ्क्रामक अवस्था टरिसकेको थियो किनभने निको हुने प्रक्रिया निकै अगाडि बढिसकेको थियो, सङ्क्रामक अवस्था थिएन । त्यो रोगका किटाणुहरू कमजोर भइसकेका थिए । यसलाई निको पार्न नसकिने होइन, यो अनिवार्यरूपमा निको हुन्छ । जति छिप्पिएको छ, त्यति समय लाग्ने हो । सुरुमै भयो भने अलिक छिट्टै निको हुन्छ । जुन अङ्गभङ्ग भएको छ, त्यो फेरि ‘रिकोभर’ हुने कुरा त भएन । त्यो गएको गइहाल्यो । त्यसले हात खुट्टाका औँलाहरू झर्ने अनेक हुन्छ । अझ बढ्दै गयो भने यसले धेरै बिर्गान सक्छ, मान्छेलाई चल्न नसक्ने, अशक्त बनाउने र अझै माथितिर फैलिंदै आउने पनि हुनसक्छ । त्यसकारण यसलाई समयमै उपचार गर्यो भने थाहा पाउने बित्तिकै, अलिकति घाउ हुने बित्तिकै र कुष्ठरोग हो भनेर थाहा पाउन वित्तिकै उपचार गरे यो निको हुन्छ ।

शरिरका अङ्गमा छुँदा थाहा पाइएन, ‘सेन्सेशन’ भएन भने त्यो कुष्ठरोग हो, त्यस्तो अवस्थामा कुष्ठरोग लागेको जानेर यथासक्य छिटो उपचार गराउनेतर्फ लाग्नुपर्दछ । यसो भएपछि यस रोगको हामी केही वर्षभित्रमा उन्मूलन गर्न सक्छौँ ।

आजको यस भेलामा यसका आयोजक संस्थाहरूको यो सक्रियता रहोस् । तपाईंहरूले यथार्थ यसमा घटाउन र बढाउनुु पर्ने आवश्यकता छैन । नबढाइ र नघटाइ यथार्थ वर्णन विभिन्न रेडियो, पत्रपत्रिका, टेलिभिजनबाट अनुरोध गरेर पनि तपाईंहरूले जनचेतना जगाउनुपर्यो । यसका लागि स्वास्थ्य मन्त्रालयले यस सम्बन्धमा सञ्चार मन्त्रालयसँग परामर्श गरेर अथवा सञ्चार गृहसँग परामर्श गरेर सहकार्य पनि गर्न सक्छ र जागरण अभियान विशेष ढङ्गले चलाउन सकिन्छ । देशभरिका मान्छेलाई यस सम्बन्धमा जानकारी गराउन सकिन्छ । जहाँ टेलिभिजन छैन, त्यहाँ समाचारबाट हुनसक्छ ।

आज मोबाइलको जमाना छ । मोबाइललाई प्रयोग गरेर यससम्बन्धी जनचेतना जगाउन सकिन्छ । त्यसो भएर यसलाई विभिन्न ढङ्गले जागरण गरी यो रोग सर्न र फैलिन नपाओस्, सरिहाल्यो, फैलिहाल्यो वा रोग प्रकट भइहाल्यो भने कसैमा देखा परिहाल्यो भने यसलाई समयमै पहिचान गरेर उपचार गर्न सकियोस् । मैले अघि नै भनेँ, यसको निधान गाह्रो छैन र कुष्ठरोग हो भनेर पत्ता लगाउन सजिलो छ । यो आफैँले घरमा पत्ता लगाउन सकिने कुरा हो । त्यसकारण खाली जनतामा यसो भयो भने कुष्ठरोग हुने रहेछ भनेर चेतना जगायो भने मात्रै त्यो पत्ता लागिहाल्छ ।

रोग लुकाउनुु हुन्न भन्ने कुरा हामीले बुुझाउन जरुरी छ किनभने लुकायो कि निकै धेरै वर्ष औषधि खानुुपर्छ । हात खुट्टाका औलाहरू झर्न सक्छन् । विभिन्न जोर्नीहरू विकृत हुन सक्छन् । त्यसकारण यसलाई ठीक ढङ्गले लान जरुरी हुन्छ । यसो भएर यी चेतनाका कुराहरू फैलाउने र अगाडि बढाउने हामीले गर्यौँ भने यसलाई अन्त्य गर्न, निवारण र उन्मूलन गर्न सम्भव छ ।

हाम्रो साथमा आज औषधि छ । सबैभन्दा महत्वपूर्ण कुरा त्यो हो । औषधि भनेको कुुष्ठरोगको काल हो, त्यसलाई सिध्याएर छोड्छ । त्यो हामीसँग छँदैछ । खाली बिरामी र औषधिको भेट गराउनु हो । बिरामीलाई नियमित औषधि सेवन गर्न सिकाउनुु पर्छ । औषधिमा तलमाथि नहोस्, नियमित औषधि सेवन गरुन् । मात्राअनुसार सेवन गरुन् किनभने यो अस्पतालमा बसेर गराउने उपचार पनि होइन, यो घरमै बसेर गर्ने उपचार हो, लामो समय लाग्छ । खाली औषधि खाने हो । त्यसकारण बिरामी आफैँ सजग हुनुपर्दछ । बिरामीलाई के थाहा हुनुपर्दछ भने सजगता भएन भने यो विकराल रूप लिने खतरा हुन्छ र यसले ठूलो विनाश गर्छ । त्यसकारण बिरामी अत्यन्त सजग हुनुपर्छ ।

खासगरी बिरामीको पहिचान भएपछि भने सजग हुनुपर्छ । औषधि प्राप्त भएपछि औषधि खानुुपर्छ र औषधिलाई पैसा लाग्दैन, निःशुल्क उपचार हुन्छ । त्यसकारण यो खर्चिलो उपचार र पैसा छैन भन्ने स्थिति होइन । निःशुल्क रूपमा सरकारले उपलब्ध गराउँछ । अस्पतालमा चिकित्सकलाई देखाएर औषधि लिन पाइन्छ । औषधि यति समयका लागि लिएर जाने र फेरि ल्याउने, अलिक टाढा छ भने अर्को व्यक्ति अस्पतालमा गएको छ भने ‘प्रेस्किप्सन’ पठाएर त्यसमार्फत् पनि औषधि झिकाउन सकिन्छ । जनचेतना, सामाजिक सहयोग, सद्भाव र सरकारको अभियान र सरकारले अलिकति ध्यान दिनुुपर्यो । यसै क्षेत्रमा विभिन्न सङ्घसंस्था लागिरहनुभएकै छ । सङ्घसंस्थाको सक्रियतालाई प्रभावकारी कसरी बनाउने, त्यो प्रतिवद्धतालाई उपलब्धिमूलक कसरी बनाउने भनेर सबैले ध्यान दिन जरुरी छ ।

समाजलाई निरोगी बनाउनका लागि, स्वस्थ समाज निर्माण गर्नका लागि यति धेरै साथीहरू यहाँ उपस्थित हुनुहुन्छ । यसमध्ये कतिपय साथीहरू अहिले पनि कुष्ठरोग लागिरहेका साथीहरू कतिपय निको भइसकेका साथीहरू पनि हुनसक्नु हुन्छ । निको भइसकेका साथीहरूले निको नभइसकेका साथीहरूलाई प्रेरणा र हौसला दिनुपर्दछ, कसरी निको भयो भनेर । निको हुन्छ, मलाई पनि पहिला थियो, मैले निको पारे भनेर मान्छेलाई त्यो कुरा बताउनुपर्छ । त्यो बताएपछि मान्छे उत्साहित भएर त्यसको निराकरणमा लाग्छ । फेरि एकपटक म सबै आयोजकहरूलाई धन्यवाद भन्न चाहन्छु ।
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले २५ वैशाख, २०८२ मा नेपाल कुष्ठरोग सम्मेलनका अवसरमा व्यक्त गरेको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको पूर्ण विवरण)

प्रतिक्रिया