शुक्रबार, वैशाख १२, २०८२

साताको कारोबार ४३ करोडले घट्यो

नेपालखोज २०७७ भदौ २८ गते ८:५६

काठमाडौं । अघिल्लो साताको तुलनामा यस साता सेयर बजारमा ४३ करोडले कारोबार कम भएको छ । अघिल्लो साता ११ अर्ब ९० करोडको सेयर किनबेच भएकोमा यो साता ११ अर्ब ४७ करोडमा कारोबार खुम्चिएको छ ।

साताभरमा नेप्से परिसूचक भने १० अंकले बढेको छ । नेप्से बढ्न आइतबारको उच्च बिन्दु १ हजार ५ सय ३८ नै प्रतिरोधका रूपमा रहने संकेत गरिरहेको छ । साताको अन्तिम दिन बनेको लामो माथिल्लो धागोसहितको सानो शरीर भएको मैनबत्तीले यही संकेत गर्छ । यो संकेत प्रवृत्ति परिवर्तनको दरिलो संकेत भने होइन ।

साताको सुरुदेखि नै घट्न थालेको बैंकिङ समूहगत परिसूचक बिहीबार भने बढेर बजार बन्द भयो । साताभरमा यो समूह २६ दशमलव ४१ प्रतिशतले घटेको छ । कोभिड–१९ को असर सम्बन्धमा वाणिज्य बैंकहरूबारे अन्य सूचीकृत समूहको भन्दा बढी चर्चा चलिरहेपछि बजार पुँजीकरणका आधारमा ४९ प्रतिशत हिस्सा रहेको यही समूहमा बढी प्रभाव देखिएको छ ।

बैंकिङ समूह भने साताकै न्यून अन्तिम बिन्दु १ हजार २ सय ४ नजिक छ । अन्तिम दिन उल्टो ह्यामर आकृति बनाएको छ । यसले यो समूह घट्नेक्रम रोकिने संकेत गरे पनि यसलाई दरिलो संकेत भने मानिँदैन । आगामी कारोबार वृद्धि भएमा भने केही समय परिसूचक बढ्नेछ ।

त्यस्तै, प्रभाव देखिएको होटेल समूहमा गत साता १३ अंकले गिरावट आयो । विकास बैंक समूहमा पनि १९ अंकले कमी आएको छ । विकास बैंक र वित्त कम्पनी समूहमा अन्तिम दिन सेतो मैनबत्ती बनेको छ । यसले मूल्य बढ्न सक्ने संकेत गरिरहेको भए पनि यी दुवै समूहले साताको उच्च विन्दु पार गर्न सकेका छैनन् । वित्त कम्पनी भने ६ दशमलव ५३ अंकले बढेको छ ।

प्रतिक्रिया