मानव बेचबिखन तथा ओसारपसारमा संलग्न महिला पक्राउ

पर्सा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका–१६ नगवा घर भएकी २० वर्षीया आलिया खातुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
आलियाले विभिन्न प्रलोभनमा देखाई भारत विहार रक्सौलस्थित होटलमा यौन क्रियाकलापमा लगाएको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डाँका चोरीमा संलग्न आठ जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–२ घर भएका २४ वर्षीय अनिष केसी, सोही नगरपालिका–११ हर्कपुर घर भएका २५ वर्षीय दिप्सन भन्ने विवेक मल्ल ठकुरी, देवचुली नगरपालिका–१६ घर भएका २३ वर्षीय सन्दिप परियार, चितवन भरतपुर महानगरपालिका–१८ घर भएका २५ वर्षीय अतित क्षेत्री, सोही महानगरपालिका–११ घर भएका २४ वर्षीय सन्दिप विक, सोही महानगरपालिका–१० घर भएका २२ वर्षीय बादल तामाङ, काठमाडौं टोखा बस्ने लमजुङ घर भएकी १९ वर्षीया सक्रिया खान र काठमाडौं कपन बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ घर भएकी २४ वर्षीया कबिता राई रहेका छन् ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफू प्रहरी हुँ भनि पीडितहरूलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा विभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्की दिई बैंक खाता र ईसेवामा रकम पठाउन लगाई तथा नगदै रकम ३ लाख ६३ हजार रूपैयाँ समेत डाँका चोरी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।
साथै प्रहरीले उनीहरूको साथबाट नगद ५२ हजार रूपैयाँ र उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२–०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं महानगरपालिका–२२ काठमाडौं मल अगाडी सडकमा बा.३४ प ४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा बा.३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानास्थित सडकमा ग.२ ख २१३९ नम्बरको बसले ग.१६ प ६१६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज घर भएका २० वर्षीय अपताप सलमानको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया