पहिलो धौलागिरी हिमाल आरोहण

आज बैशाख ३१ गते – आजको ठिक ६५ वर्ष अगाडी पहिलो पटक धौलागिरी हिमालको सफल आरोहण भएको थियो । स्विस धौलागिरी आरोहण टोलीका कर्ट डिमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट र दुइ शेर्पा निमा दोर्जे र नवाङ दोर्जे धौलागिरी हिमालको चुचुरोमा पुग्न सफल भएका थिए ।
स्विस पर्वतारोही तथा शौखिन पाइलट म्याक्स इज्लिनले धौलागिरी आरोहणको तैयारी गर्दै थिए । अचानक उनको दिमागमा कठिन यात्रामा पिलाटस कम्पनीको विमान भाडामा लिएर आरोहणका लागी आबश्यक सामग्री तथा आरोहण दलका सदस्यलाई धौलागिरी आधार शिविरसम्म लग्न सहज हुने तथा समयको पनि बचत हुने बिचार आयो । तुरुन्तै उनले विमान कम्पनीलाई सम्पर्क गरे । उनले सोचे भन्दा सहजतापुर्वक विमान कम्पनीले विमान निशुल्क उपलब्ध गराइदिने घोषणा गरे ।
विमान कम्पनीले आफ्नो पि-६ मोडलमा सामान्य सुधार गराए । विमानको पाङ्ग्राको तल हिउमा अवतरण गर्न सहज गर्नको लागी दुबै पाङ्ग्राको लागी स्किवोर्ड जडान गराए । विमान हिमाली क्षेत्रकै लागी भनेर बिशेष चम्किलो रातो रङको प्रयोग गरे भने विमानमा Swiss Dhaulagiri Expedition 1960 तथा HIMALAYA भनेर लेखिदिए । साथै विमानको नाम “यती” राखिदिए ।
“यती” स्विटजरल्याण्डबाट एक हप्ता लगाएर पोखरा आइपुगेको थियो । पोखरामा आरोहण टोलीका १३ जना, शेर्पा ६ जना, पाइलट २ जना तथा लाइसन अफिसरको रुपमा मिनबहादुर शेरचन पनि थिए । ‘यती’ले त्यसबेला धौलागिरी आधार शिविर सम्म सामान ढुवानी तथा आरोहण टोलीलाई आधार शिविरसम्म पुग्न धेरै सहज बनायो । समुन्द्री सतहदेखी ५७०० मीटर उचाइमा रहेको धम्पुस पासमा अवतरणको विश्व रेकर्ड पनि राखे । पाइलट एन्स्ट साक्सर र एमिल विक निकै हतोत्साही भइरहेका थिए । कठिन भए पनि आनन्दित थिए ।
अचानक २०१७ सालको नयाँ वर्षकै दिन पोखरामा “यती” दुर्घटनामा पर्यो । ‘यती‘ले उडान शुरु गरेको एकैछिनमा विमानको इञ्जिन उछिट्टिएर खस्यो । साथै विमान पनि खस्यो । उता आरोहण टोली सामग्रीको प्रतिक्षामा थियो । यता विमान कामै नलाग्ने भएको थियो । यसपछि म्याक्स पोखरा आए । विमान कम्पनीसंग सम्पर्क गराइ नयाँ इञ्जिन लिएर बिशेष विमानमा पिलाटस कम्पनीका इञ्जिनियर हान्स रेजर पोखरा आइपुगे । २३ दिन पछि बैशाख २३ गते ‘यती’ ले फेरी धौलागिरी आधार शिविरमा उडान गर्यो । तर दुर्भाग्य यसरी दुख पूर्वक मर्मत गरि उडाएको ‘यती’ ले लामो समय उड्न पाएन ।
मर्मत गरेर उडान थालेको दुइ दिन पछि अर्थात १७औ पटक राम्रैसंग धम्पुस पासमा अवतरण गरेको ‘यती’ उडानको क्रममा अत्यधिक हावाले गर्दा दुर्घटनाग्रस्त भयो । पाइलट दुवै उछिट्टिएर बाँचे । विमान पूर्णरुपमा ध्वस्त भयो । दुवै पाइलट स्विटजरल्याण्ड फर्किए । पछि एक पाइलट एमिल विक नेपालमा पिलाटस उडाउन तथा प्रशिक्षण दिन फर्केर नेपाल आए । नेपालमा धेरै समय रहे ।
आरोहणको सहजताले गर्दा बैशाख ३१, २०१७ मा धौलागिरी हिमालको आरोहण सफल भयो । स्विस पर्वतारोही म्याक्स इज्लिनको नेतृत्वमा बनेको आरोहण टोलीका अस्ट्रियन पर्वतारोही कर्ट डिमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट र दुइ शेर्पा निमा दोर्जे र नवाङ दोर्जे गरि ६ जना धौलागिरीको शिखरमा पुग्न सफल भए ।
“यती” को कथा
सन १९३९ मा स्थापना भएको पिलाटस कम्पनीले पि-१ देखी पि-५ मोडलका साना विमानहरु बनाइसकेका थिए । सन १९५९ को मे महिनामा पि-६ डिजाइनको विमानले नयाँ प्रयोग गर्यो । छोटो दुरीमा उडाउन र झार्ने सकिने STOL प्रबिधीको विमान तैयार भयो । यसको सम्भाव्य अध्ययन बिस्तृतमा गर्न बाकी नै थियो ।
धौलागिरि आधार शिविर सम्मको यसको यात्रा कथाले यस विमानको चर्चा अत्यधिक भयो । जसले गर्दा विश्वको कतिपय देशले यसको माग गर्न थाल्यो । ‘यती’ केवल धौलागिरी आरोहणको लागी मात्र होइन अन्य हिउँले भरिएका क्षेत्रका लागी पनि धेरै नै उपयोगी सिद्ध भयो । पि-६ विमान अलास्का, क्यानाडा, न्यूजिलैण्ड लगायतका देशमा अत्यधिक उपयोग भयो । दुर्गम र अप्ठ्यारो ठाउँमा बनाइने छोटा विमानस्थलमा सहजै अवतरण गर्न सकिने हुँदा पनि यस विमानलाई धेरैले मन पराए । यस सफल आरोहण पछि शाही नेपाल विमान सेवाले तीनवटा पिलाटस विमान खरिद गरे । नेपालको हिमाली क्षेत्रमा रहेका छोटो विमानस्थलको लागी यो विमान वरदान सावित भयो । तर कठिन उडानमा उडिरहनु पर्ने विमानको दुर्घटना पनि असम्भव थिएन । विमान एकएक गरेर सबै दुर्घटनामा ध्वस्त भयो ।
बैशाख २३, २०१७ मा धौलागिरी आरोहणको सामग्री ढुवानीको क्रममा धम्पुस पासमा दुर्घटना भएको ‘यती’ पिलाटस पोर्टर पि-६ पछि नेपालमा पिलाटस पोर्टरको अन्य दुर्घटनाहरु भए । यसको एक वर्ष पछि विमान २०१७ फागुन २६ मा सामान्य दुर्घटना भयो । भदौ १०, २०१९ मा पिलाटस पोर्टरको विमान ढोरपाटन नजिकै दुर्घटना भयो । जसमा डा.मोहनमणि दिक्षित सहित ६ जनाको मृत्यु भयो । शानेवानीकै डिसी ३ दुर्घटनाग्रस्त भए पछि जाँचवुझको लागी गएका डाक्टर, प्रहरी अधिकृत तथा भारतीयविज्ञको साथ पाइलटको पनि मृत्यु भएको थियो ।
२०२३ माघ २६ मा पनि पिलाटसको दुर्घटना भएको थियो । तर कसैको हताहत भएन । २०३१ को चैत १८ मा काठमाडौमा भएको दुर्घटनाले भने सगरमाथा आरोही एडमण्ड हिलारीको श्रीमती लुज हिलारी तथा छोरी बेलिन्डा हिलारी सहित ५ जनाको मृत्यु भयो । यसपछि मंसिर ४ , २०३८ मा बिराटनगरमा भएको दुर्घटनामा १० जनाको मृत्यु भयो भने मंसिर ३, २०५५ मा भएको नाम्चेमा भएको दुर्घटनामा पाइलटको मृत्यु भएको थियो । यसरी नेपालको सबै पिलाटस पोर्टर विमान दुर्घटनाका साथ सकिए ।
धम्पुस पासमा दुर्घटनाग्रस्त ‘यती’ को अवशेष पनि करिव ३५ वर्ष पछि स्विट्जरल्याण्ड लगिएको थियो । अहिले सो विमान त्यहाको संग्रहालयमा सजाएर राखिएको छ । विमानको अगाडी यतीको प्रतिकृति बनाइएको छ ।
प्रतिक्रिया