सूर्य नेपाल च्यालेन्ज सुरु, शुक्र र भुवन संयुक्तरुपमा शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन पूर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन कुमार रोक्का संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन् । पार–६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्र र भुवनले आज ७–अन्डर ६१ को उत्कृष्ट स्कोर बनाए। उनीहरूले दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे ।
तेस्रो स्थानमा रहेका दिनेशले ४–अन्डर ६४ को स्कोर जोडे। नेपाल नम्बर एक भुवन नगरकोटी ३–अन्डर ६५ सहित चौथो र रामे मगर २–अन्डर ६६ को स्कोरमा पाँचौं स्थानमा रहेका छन् ।
१–अन्डर ६७ को स्कोरमा प्रदीप कुमार लामा, दीपक मगर, निरज तामाङ, जयराम श्रेष्ठ र साबिक विजेता रवि खड्काले संयुक्तरुपमा छैटौं स्थान बाँडे ।
चोटमुक्त भएर करिब दुई वर्षपछि घरेलु टुरमा फर्किएका शुक्रले सानदार पुनरागमन गरे । बोगी रहित कार्ड बनाउने क्रममा तेस्रो र चौथो होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । ब्याक नाइनमा सानदार प्रदर्शनका साथ १० औं र ११ औं तथा यसपछि १३औं देखि १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे। कुल ५ बर्डीले ब्याक नाइन ५–अन्डर २९ मा पुरा गरे ।
भुवन कुमार रोक्काले प्रभावशाली प्रदर्शनकासाथ फ्रन्ट नाइनमा ५–अन्डर २९ को नतिजा निकाले । उनले पहिलो, चौथो, छैटौं, सातौं र आठौं होलमा बर्डीको सफलता गरे । यसपछि १०औं, १३औं र १४औं होलमा एक–एक सट बचाए। १६औं होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा पुरा गरे ।
एमेच्योरतर्फ फुन्सोक नोर्बु लामा र राहुल विश्वकर्मा इभन–पार ६८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरूले बलराम पौडेल र निश्चयजङ्ग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । बलराम र निश्चयले १–ओभर ६९ स्कोर गरे ।
७२ होलको चार दिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागीता रहेको छ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ शीर्ष २१ प्रोफेसनल र एमेच्योर खेलाडीले बाँकी ३६ होलको लागि स्थान बनाउनेछन् ।
प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ। विजेताले १ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश ७० हजार र ५० हजार हात पार्नेछन् ।
साथै शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरुले पनि नगद प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धा पश्चात शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया