चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी बनाउन आग्रह गरेका हुन् ।
जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरेसँगै आँफूले पहल थालेको जानकारी दिए । उनले भने, आज हामी बागमती प्रदेशका मुख्यमन्त्रीलाई औपचारीक रूपमा आग्रह गर्दै छौँ । जिल्लाका सात पालिकाका प्रमुख एबं प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सफारी पर्यटनको दृष्टीले विश्वकै उत्कृष्ठ गन्तव्य चितवन पर्यटकीय राजधानीका लागि उपयुक्त हुने बताए । भरतपुर महानगरपालिकाले गत वर्षलाई भ्रमण वर्ष २०२४ को रूपमा मनाएको थियो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला भएको बताए । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटक यहाँ आउने गरेको उनले बताए ।
सरकारको १०० गन्तव्यमा २० हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने उत्कृष्ट गन्तव्यमा मेघौलीलाई समावेश गरिएको छ ।
पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्रकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्य, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधार भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताए ।
प्रतिक्रिया