बिहीबार, जेठ ९, २०८२

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

नेपालखोज २०८२ जेठ ९ गते १६:४४

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तार्केश्वर नगरपालिका–४ बस्ने तनहुँ भानु नगरपालिका–८ घर भएका ४३ वर्षीय बिकास गुरूङ, काठमाडौं महानगरपालिका–३२ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१२ घर भएकी ३६ वर्षीया रन्जना अधिकारी, काठमाडौं महानगरपालिका–३१ बस्ने ताप्लेजुङ पाथीभरा याङ्वरक गाउँपालिका–१ घर भएका ४० वर्षीय यादव प्रसाद घिमिरे र काठमाडौं महानगरपालिका–२ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका–३ घर भएका ५२ वर्षीय लोकजन खड्का रहेका छन् ।

पक्राउ मध्ये बिकासले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रन्जनाले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, यादव प्रसादले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ र लोकजनले थाईल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिकासलाई काठमाडौं महानगरपालिका–१२ बाट मंगलबार, रन्जनालाई काठमाडौं महानगरपालिका–१ बाट मंगलबार, यादव प्रसादलाई काठमाडौं महानगरपालिका–१२ बाट बुधबार र लोकजनलाई काठमाडौं महानगरपालिका–३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

राजश्व छली चोरी पैठारी गरी ल्याएका सामाग्री सहित आठ जना पक्राउ

राजश्व छली चोरी पैठारी गरी ल्याएका विभिन्न सामाग्री सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ चःमती बस्ने झापा गौरीगंज गाउँपालिका–१ देवीघाडा घर भएका २७ वर्षीय रोशन कुमार महतो, महोत्तरी भटिहानी नगरपालिका–६ घर भएका २१ वर्षीय सिकेन्दर रजा, ललितपुर महालक्ष्मी नगरपालिका–४ हात्तीवन बस्ने भारत चेन्नई घर भएका ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, ३० वर्षीय दिपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कृष्णमुर्थी, भारत नयाँदिल्ली बस्ने ३१ वर्षीय मोहम्द रेहान र २४ वर्षीय रौनक ठाकुर रहेका छन् ।

चःमती एरियामा सिकन्दर रजा समेतका व्यक्तिहरूले विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौं ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जा सहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद १ लाख ८ हजार ५ सय रूपैयाँ, मोबाइलको डिस्प्ले ५ सय ८० थान, रेडमी कम्पनीको ट्याब १ थान, म्याकबुक १ थान, ल्यापटप १ थान, चार्जर १ हजार ४ सय थान, विभिन्न कम्पनीका मोबाइलका बट्टाहरूमा रहेको विद्युतिय उपकरण (फ्लेक्स) ८ सय थान, मोबाइलमा प्रयोग हुने ब्याट्री १ हजार १ सय ५० थान, मोबाइल ८ थान लगायतका सामाग्रीहरू बरामद भएको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुर चोक नजिकै सडकमा चपुरबाट डुमरीयातर्फ जाँदै गरेको ना.३६ प १२०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय हरी चौधरीको बुधबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे ट्रामा चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरस्थित सडकमा गरूडाबाट चपुरतर्फ जाँदै गरेको ना.५६ प २९८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार वृन्दावन नगरपालिका–६ हर्षाहा बस्ने ३८ वर्षीया सबिता देवीको मृत्यु भएको छ । मंगलबार दिउसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको चपुरस्थित सिभिल अस्पताल हुँदै न्यूरो अस्पताल वीरगंजमा थप उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरस्थित सडकमा बुटवलबाट भैरहवातर्फ आउँदै गरेको लु.७५ प ७८४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक लुम्बिनी साँस्कृतिक नगरपालिका–९ बस्ने १९ वर्षीय निरज विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया