आइतबार, जेठ २६, २०८२

पहिलो अन्नपूर्ण हिमाल आरोहण

सुनिल उलक २०८२ जेठ २१ गते १६:५७

आज ७५ वर्ष पुग्यो, अन्नपूर्ण हिमालको प्रथम सफल आरोहण भएको पनि । सन १९५० जुन ३ का दिन फ्रान्सेली आरोहण टोलीका प्रमुख मौरिस हर्जोग तथा फोटोग्राफर मार्सल आइचकले संसारका ८००० मीटर भन्दा अग्लो हिमाल मध्यको एक अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । अन्नपूर्ण दोश्रो हिमालको उचाइ ८०९१ मीटर रहेको छ । यस सफल हिमालको आरोहणसंगै विश्वमा नेपालको हिमाली पर्यटनको प्रचार प्रसार शुरु भएको थियो ।

२००६ साल चैत्र २३ गते नौतनवाबाट नेपाल प्रवेश गरेका अन्नपूर्ण आरोहण टोलीमा आङ थार्के शेर्पा (सरदार), आङ छिरिङ, दावा तोन्डु, सार्की, फोथार्के, आइला, आङ्गावा तथा अद्जीवा सबै शेर्पाहरू थिए । आरोहण दलमा जिन कौजी, लुइस लचेनल, ग्यास्टन रिवुफत, मार्सल स्कातज र लायोनल टेरी रहेका थिए । सोही दलमा चिकित्सक जाकेस औडत, फोटोग्राफर मार्सल आइचक तथा टोली नेताको रूपमा मौरिस हर्जोग थिए ।

आरोहण टोलीले बुटवलसम्म जीप लिएर आए । त्यहीँ उनिहरूले एक नेपाली विश्वासपात्रका रूपमा भारतीय गोर्खा सेना छोडेर नेपाल फर्केका घनविक्रम राणालाई भेट्टाएका थिए । घनविक्रमको साथले उनिहरूलाई यात्रामा निकै सहज भयो । त्यहाबाट दुई सय भरियालाई भारी बोकाएर तानसेन हुँदै कालीको तिरैतिर रानीमहलको छेउ रानीघाट पुगे ।

यात्रा कठिन थियो, नेपालमा राणाकाल नै थियो । सडक सबै गोरेटो र घोडेटो मात्र थिए । त्यस माथी भरियाको ठूलो समुह लिएर हिँड्नु उनिहरूको सम्पूर्ण ब्यवस्था गर्नु अझ चुनौतीपूर्ण थियो । पाल्पाबाट केही अगाडि पुगेपछि भरियाहरूले सामान सबै छोडेर हडताल गरे । ठूलो सपना बोकेर आएका फ्रान्सेली टोलीको लागि यो निकै संकटको समय थियो । भरियाहरू पारिश्रमिक कम भएको भन्दै अनकन्टार जंगलको बीचमा पुगेर भारी सबै छोडेर हडतालमा उत्रिए । एउटा चिन्ता र त्रासको वातावरण थियो । समस्या गम्भीर थियो, भाषाको समस्या थियो । यो समस्यालाई समाधान गर्ने जिम्मा आफ्नै नेपाली विश्वासपात्र घनविक्रमलाई नै दिए उनिहरूले । करिव आधा घण्टाको छलफलपछि घनविक्रमले भरियालाई राजी बनाए ।

यहाँबाट हिडेको केही समयमा नै खोला किनारमा मेला लागेको भेटे । बैशाख कृष्ण एकादशीको दिनमा लागेको बाह्रवर्षे मेला भन्ने जानकारी पाए उनिहरूले । डुम्रिचौर, बेहडी, फलेबास, बलेवा हुँदै २००७ बैशाख ४ गते बागलुङ आइपुगे । त्यहाँबाट बेनी, तातोपानी पुगे । यहाबाट दाना, घाँसा, लेते हुँदै टुकुचे पुगेपछि हिमाल आरोहणको लागि निस्किए । उनिहरू टुकुचेमा रहँदा शिकारमा पनि गएका थिए, जहाँ उनिहरूले एउटा थारको शिकार गरे ।

बैशाख ११ गते टुकुचेमा नै क्याम्प बनाएर बसे । चढाइको क्रममा अचानक लायनल टेरी बिमारी भएपछि उनलाई बोकाएर क्याम्पमा नै फर्काइयो । दुई दिनको आरामपछि तेश्रो दिन टेरी पनि हिँड्न तैयार भए, तर धेरै दिनको सोचाइ तथा नजिकैका ग्लासियरहरूको अवलोकन तथा ठिनी गाउँका गाउँलेहरूको सल्लाहले अन्तमा तिलिचो हुँदै मनाङबाट अन्नपूर्णको उत्तरी मोहडाबाट चढ्ने सोच बनए । तथापि त्यहाँको अवस्थाबारे कुनै जानकारी थिएन । त्यसैले फोटोग्राफर इशाक, रेबुफाट र मौरिस केही तिब्बती भरियासाथमा लिएर त्यसतर्फ लागे । खङ्सार पुगेपछि बल्ल मन फुरुङ्ग भयो । उनिहरूले अन्नपूर्णलाई नजिकबाट देखे । केही दिन त्यहीँबाट हिमाल आरोहण गर्न सकिने अवस्थाको अवलोकन गरेर फेरि टुकुचे फर्किए ।

टुकुचे पुगेपछि फेरि सबैलाई जम्मा गरेर निकै सोचविचार गरे । अन्नपूर्ण जसरी पनि चढ्ने सपना पूरा गर्नु थियो । त्यसैले सफल हुन सकिने बाटो रोज्नुपर्ने बाध्यता थियो । धेरै दिनको छलफल तथा सबै सम्भावनाहरूलाई राम्ररी नियालेपछि मौरिसको नेतृत्वमा एउटा समुह जेठ २, २००७ मा टुकुचे हिमालको बाटो हुँदै अन्नपूर्ण हिमालतर्फ हिँडे । साथै सामान मिलाएर चार समुहमा विभाजित भएर यात्रा आरम्भ गरे । लारजुङ हुँदै लेतेमा आएर रारि बास बसे । उनिहरूको यात्रामा सबै भन्दा कठिन मिस्र्तित खोला तर्नु थियो । खोला तरेपछि उनिहरूलाई केही सहज अनुभूति भयो । अन्ततः जेठ ५ गते बेसक्याम्पमा पुगे ।

जेठ २ गते नै क्यामेराम्यान इचाक र आउटवट भरिया आङ थार्केलाई लिएर मुक्तिनाथतर्फ लागे । मुक्तिनाथमा पुगेर लामाहरूलाई भेटेर शान्तिको अनुभूति बोक्दै उनिहरू टुकुचेको क्याम्पमै फर्केर आए । त्यहाँ पर्खेर बसेका अन्य समुहका साथ अगाडि बढे । मौरिस, रेबुफेट, कोजी, लचेनल, टेरी, स्वाज र केही शेर्पाहरू बेसक्याम्पमा पर्खेर बसिरहेका थिए । इचाक, आउटवट र अन्य शेर्पाहरू पनि आरोहणको यात्रामा निस्किए ।

तेश्रो क्याम्प आइपुग्दासम्म जेठ १२ भइसकेको थियो । सामानहरू नपुग भइ भरियाहरूलाई बेसक्याम्पमा सामान लिन पठाइएको हुँदा यहाँ केही दिन पर्खनुपर्ने बाध्यता थियो । जेठ २३ मा मनसुन शुरु हुने मौसमविद्बाट जानकारी आइसकेको थियो । केवल १२ दिन बाँकी हुँदा सबै आत्तिरहेका थिए, मनसुन शुरु भएपछि आरोहण सकिँदैनथ्यो । मनसुन शुरु हुनुअगाडि शिखरमा पुगिसक्नुपर्ने बाध्यता थियो ।

अन्तमा लचेनल, रेबुफेट, टेरी र मौरिस अगाडी बढे । यात्रा जतिसुकै कठिन भए पनि पूरा गरेरै छाड्ने प्रण थियो । यही हौसला र आँटले नै शक्ति बढिरहेको थियो । जेठ १५ मा मोरिस र अरु साथीहरूको साथ चौथो आधार शिविरमा पुगे । टेरी, रेवुफट र दुई शेर्पा आइपुग्न बाँकी थियो । भोलिपल्ट राति पाँचौं शिविरको लागि हिँड्ने तैयारी गर्न थाले । तर केही सामान नपुग भएको हुँदा जी.बी. रानालाई फेरि टुकुचेतर्फ पठाए ।

चौथो शिविरबाट अगाडि केही बढे तर मौसमले गर्दा उनीहरू चाहेजस्तो छिटो हिँड्न सकेका थिएनन् । जेठ २० गते भइसकेको थियो मनसुन आउन मुस्किलले ३-४ दिन मात्र बाँकी थियो । छिटो पुग्ने चाहना भए पनि अप्ठेरो बाटो र मौसमले गर्दा बिस्तारै अगाडि बढ्दै थिए । राति लुइस लचेनल, मौरिस हर्जोग र शेर्पा आङथार्के पाँचौं शिविरमा पुगे । खुशीको सिमा रहेन सबैको । सबै उमङ्गमा थिए । अब भोलि अन्नपूर्ण हिमालको शिखरमा पुग्ने खुशियाली सबैमा छायो । शेर्पा आङ थार्केले खुशी हुँदै भने- भोलि बिहान लचेनल साहेब र बडा साहेब (मौरिस) अन्नपूृर्ण हिमालको शिखरमा पुग्नुहुनेछ । तर आफ्नो खुट्टा हिउँले खाएको हुँदा उनले भोलिपल्ट बिहानै दोश्रो क्याम्पमा फर्कने कुरा सुनाए । अन्यले पनि स्विकृति दिए । राति बेस्सरी हावा चल्यो । लचेनल धेरै आत्तिए । पाँचौं शिविरमा पुगेर आरोहण परित्याग गर्नुपर्ने हो कि भनेर आत्तिए । हावाले पाल सबै भत्कियो । साथमा परेको हिउँले रातभर सुत्न पाएनन् । मौरिसले लचेनललाई पनि सम्झाए अनि आफू पनि हिम्मतका साथ डटेर बसे ।

२१ गतेको बिहान अर्कै खुशियाली थियो, बिहानै तैयार हुन थाले । मौरिस बिहानैदेखि आफूलाई शारिरिक र मानसिक रूपले तैयार गर्दै थियो । लुइस लचेनल पनि तैयारी अवस्थामा नै थिए । बिहान ६ बजे हिँड्ने तैयारी गरे । केही समयको उकालोमा हिउँको चढाइसँगै लचेनलले खुट्टामा समस्या आएको सुनाए । जुत्ता खोलेर हेर्दा खुट्टा हिउँले खाएको थियो । हिँड्ने–नहिँड्ने दोधारमै रहँदा लचेनलले फेरि बुट कसे र पैताला अगाडि बढाए ।

केही समय हिँडेपछि बीचमा टक्क अडिएर लचेनलले मौरिसलाई अँगालो हाल्दै भने, ‘यदि म यहीँबाट फर्किएँ भने तिमी के गर्छौ ?’ अप्रत्यासित यो प्रश्न सुनेर एकैछिन मौरिसले सोचे अनि जवाफ दिए, ‘म अगाडि बढ्नेछु । आखिर म उनलाई हिँड्न कर गर्न सक्दिनथेँ । उसको अधिकारको कुरा थियो । अबको केही घण्टामा हामी शिखर पुग्दैथियौँ । जसको लागि हामीले यति धेरै कष्ट सहेका थियौँ । अझै केही कष्ट झेल्न सक्यौँ भने हामी शिखरमा पुग्नेछौँ ।’

हर्जोगको जवाफ सुनेर लचेनल पनि शिखर चुम्न आतुर भए । दवै बिस्तारै अगाडि बढे । आकाश गहिरो नीलो रङका साथ देखिएको थियो । हिउँ बिस्तारै ढुङ्गाजस्तै कडा हुन थाल्यो । हिँड्नलाई सहज अनुभव भयो । एकैछिनको चढाइपछि चुचुरोमा पुगे । ८,०७५ मीटर अर्थात् २६,४९३ फीटमा पाइला अडियो । उनीहरू अर्थात् मौरिस हर्जोग तथा लुइस लचेनल वि.सं. २००७ जेठ २१ गते दिउँसो २ बजे अन्नपूर्ण हिमालको शिखरमा पुगेका थिए । दुवैले एउटा विश्व रेकर्ड राखेका थिए । ८,००० मीटर भन्दा अग्लो शिखरमा पहिलो पटक मानव पाइला परेको थियो । दुवै खुशीले पागलतुल्य भए !

लाचेनलको खुट्टाको पीडा बढिरहेको थियो । लाचेनलले भने, अब म कसरी फर्कने ? मौरिस खुशीले पागल हुँदै थिए । त्यसैले उनको कुरा सुने या सुनेनन् । मौरिसले भने– एकैछिन पर्ख, म क्यामेरा निकाल्छु । यो खुशीको क्षणको केही फोटोहरू लिन्छु । नभन्दै उनले क्यामेरा निकाले अनि फटाफट फोटोहरू खिच्न थाले ।

लचेनल कराए, ‘कहीँ तिमी बौलाएका त छैनौ, हामीले एक मिनेट ढिलो नगरी यहाँबाट छिटो-छिटो त झर्नुपर्छ ।’ मौरिस चुपचाम एकैछिन टोलाएर बसे । उनले ती सबलाई सम्झिए, जो शिखर चुम्न हिँडेकाहरू या त हराए या मृत्यु भयो । र, सोचे– हामी कति भाग्यमानी… हामी शिखर चुम्न सफल भयौँ ।

लाचनेल उनलाई बेवास्ता गर्दै तल झरे । बिस्तारै उनको पदचाप हेर्दै मौरिस पनि पछि-पछि तल फर्के । फर्कनु पनि त्यति सहज थिएन । चौथो क्याम्प पुग्नुअघि हिउले गर्दा बाटो हराए । उनीहरूको चिच्याहट क्याम्पमा बसेकाहरूले सुनेनन् । खुट्टा हिउँले खाइरहेको थियो । बाटो थाहा नहुँदा र रात ढिलो हुँदा हिउँमै सानो सुरुङ बनाएर रातभर बिताए । टेरी, लचेनल र हर्जोग रात कटेपछि बिहानको उज्यालोमा केही सहज हुने सोच्दै थिए । अचानक ठूलो आवाजको साथ हिउँपहिरो आयो । संयोगले उनिहरूलाई केही भएन । तर रेवुफेट र टेरीको चश्मा हरायो जसले गर्दा उनिहरू अन्धाजस्तै भए । डोरी भेटिएपछि डोरीको सहायताले झर्ने कोशिस गरे । बिस्तारै झर्दै गएका उनिहरूले दोश्रो क्याम्पनजिकै साथीहरू सहयोगको लागि आउँदै गरेको देखे । लचेनल र हर्जोगको खुट्टा हिउँले खाएको थियो । शेर्पाको सहयोगमा बोकिएर तल ओर्लिए । अनेकौँ दुःख-कष्टका बाबजुद यसरी एउटा ‘सपना’ पूरा भयो ।

प्रतिक्रिया