नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९ सय ९४ जनाको देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण थपिएको जनाएको छ । नेपालमा हिजो (मंगलबार) काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
आजसम्म ८ लाख ७२ हजार २७४ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचाररत संक्रमितको संख्या १६ हजार २४२ रहेको जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ७०१ जना र संस्थागत आईसोलेसनमा ८ हजार ५४१ जना छन् । संक्रमितमध्ये १७३ जना संक्रमितको आईसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८२० जना रहेका छन् ।
यस्तै काठमाडौंसहित, भक्तपुर, चितवन, मकवानपुर, सर्लाही, रुपन्देही, सुनसरी, सिराह गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा संक्रमित नरहेको अवस्था छ ।
नेपालमा २४ घण्टामा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ जना भएको छ भने ४१ हजार ६८ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ भने १ हजार ७०० जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमुक्त भएको संख्या ७१.५ प्रतिशत हो ।
प्रतिक्रिया