आइतबार, असार १, २०८२

उहिलेको साहुको गुफा अचेल महेन्द्र गुफा

सुनील उलक २०८२ असार १ गते ६:१५

काठमाडाैं । वि.सं २०१० सालमा सत्यमोहन जोशीले बाटुलेचौरको यस गुफाको अवलोकन गर्नुभए पछि यसको चर्चा राष्ट्रिय स्तरमा हुन शुरु भएको थियो । यस अगाडि बाटुलेचौरका स्थानीयहरु तामुखको गुफा भन्ने गर्दथे । भित्र पस्न जो कोही सक्दैनथे ।

सत्यमोहन जोशी पोखरामा आउनुहुँदा वहाँले गुफा भित्र प्रवेश गर्ने इच्छा ब्यक्त गर्नुभए पछि मइन्टोलको ब्यबस्था गराइ सानो समूह नै गुफा भित्र प्रवेश गरेका थिए ।

पछि २०१६ सालतिर राजा महेन्द्रले पनि यस गुफाको अवलोकन गर्नुभए पछि यस गुफामा सर्वसाधारणले पनि सहज अवलोकन गर्न सकिने बनाउन निर्देशन दिइए पछि महेन्द्रगुफा नामाकरण गरि सर्वसाधारणलाई पनि गुफा अवलोकन गर्ने ब्यबस्था मिलाइयो ।

अब त महेन्द्र गुफा पोखरा घुम्न आउनेहरुका लागि पोखरामा घुम्नै पर्ने एक स्थलका रुपमा स्थापित पनि भइसकेको छ । महेन्द्र गुफा वरपर सानो बजार नै बनिसकेको छ भने बस्ती पनि ठूलै भइसकेको छ ।

यो गुफाको निर्माणको भौगोलिक कारण भने नरम चुनढुङ्गा रहेको पाखो भित्र पानी पसेर चुन बगाएर लगे पछि धोद्रोका रुपमा बनेको थियो । झट्ट हेर्दा भुवान गएको जस्तो देखिए पनि यो तेर्सो तेर्सो करिव २०० मीटरसम्म गएको छ ।

भने भित्र दुइ भागमा विभाजन भएको देखिन्छ । पहिले पहिले यस गुफामा जंगली जनावरको बसोबास हुने गर्दथ्यो । तसर्थ मानिसहरु जान डराउँदथे ।

नेवार साहुको ब्यक्तिगत पाखो र खेत भित्र परेको हुँदा यस गुफालाई साहुको गुफा भन्ने गरिन्थ्यो । साथै अध्यारो भुवान भएको हुँदा अँधेरी भुवान पनि भनिन्थ्यो ।

यहाँ राखिएको तस्विर स्वर्गीय हर्क गुरुङज्यूले खिच्नुभएको हो । उहाँले पोखराको भौगोलिक अवस्थितिका विषयमा एडिनवर्ग यूनिवर्सिटीबाट पिएचडी गर्ने क्रममा खिच्नुभएको हो । यो तस्विर अन्दाजी २०१७-१८ सालमा खिच्नुभएको हो । उहाँले यो गुफालाई गुफा नाम नदिनुभएर Swallow Hole भनेर लेख्नुभएको देखिन्छ ।

भित्र रहेको चुनढुङ्गा बगेर गएपछि बनेको प्वालका रुपमा वर्णन गर्नुभएको हो । एकातर्फ घार्मीको डाँडो अर्को तर्फ अर्मलाको डाँडो बिचमा बग्दै गरेको कालीखोलाले बनाएको उपत्यका भएको हुँदा बाटुलेचौरको माथिल्लो भागलाई काली उपत्यका नामाकरण गरेको देखिन्छ । गुफा रहेको पाखो भने घार्मी डाँडा कै हो ।

प्रतिक्रिया