क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् ।
पक्राउ मध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख ५० हजार रूपैयाँ र व्रिजेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका–११ बाट शनिबार र व्रिजेशलाई काठमाडौं महानगरपालिका–१२ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गणेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
इलामको इलाम नगरपालिका–११ आलेस्थित सडकमा बिर्तामोडबाट मंगलबारेतर्फ जाँदै गरेको प्र १–०१–००१ च ९७७८ नम्बरको पिकअप अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा पिकअपमा सवार देउमाई नगरपालिका–९ नवमी बजार बस्ने झापा घर भएका ३८ वर्षीय बिष्णु पराजुलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालक समेत २ जनाको बिएण्डसि अस्पताल बिर्तामोड झापामा उपचार भइरहेको छ ।
मोरङको ग्रामथान गाउँपालिका–५ तेतरीयास्थित सडकमा विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को.३३ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय सुरज सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया