मंगलबार, असार ३, २०८२

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

नेपालखोज २०८२ असार ३ गते ९:४६

मुस्ताङ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बृद्धि भएको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुँदै गएको हो ।

जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिकस्थलका रूपमा चर्चित छ । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँको पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले मुस्ताङ घुम्नैपर्ने मुख्य आर्कषक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

जिल्लाका यिनै धार्मिक, सामाजिक, सांस्कृतिक संस्कृतिका साथै यहाँको पृथक प्रकारका भूगोल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक भ्रमण गर्न लालायित हुने गरेको पाइएको छ । विगत पाँच वर्षको पर्यटकीय तथ्याङ्क तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

यसैक्रममा आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको ११ महिनामा स्वदेशी तथा विदेशी गरी छ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ स्वदेशी तथा विदेशी पर्यटकले जिल्ला भ्रमण गरेका थिए । गत वर्षको तुलनामा चालु आवको ११ महिनामा दुई लाख २४ हजार २१० जना अर्थात् ३३ प्रतिशतले पर्यटक बढेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

उनका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ र विदेशी एक लाख ३८ हजार ६६४ जनाले मुस्ताङ भ्रमण गरेका छन् । गत वर्षको बाह्र महिनामा स्वदेशी तीन लाख ५४ हजार ९२७ र विदेशी ९९ हजार ३९९ जनाले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षभन्दा चालु आवको ११ महिनामा स्वदेशी पर्यटक ३४ दशमलव २५ प्रतिशत र विदेशी पर्यटक २८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो । चालु आवको साउनदेखि जेठसम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिकमा ९९ हजार १७६ र चैतमा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ ।

यसैगरी विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठमा २८ हजार ३७२ र वैशाखमा २६ हजार २९ जना विदेशीले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाले बताए । मुस्ताङमा अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका साथै कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पिण्डदान र तर्पण दिन आउने गर्छन् । मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटकमध्ये एक चौथाइले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी फर्किने गरेको पाइएको छ ।

मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकमा ८० प्रतिशत भारतीय रहेका छन् । मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुस्ताङ आउने गर्छन् । कुल विदेशी पर्यटकको सङ्ख्यामध्ये २० प्रतिशत अन्य मुलुक छन् । यसमा ७२ देशका पर्यटक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया