बुधबार, असार ४, २०८२

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

नेपालखोज २०८२ असार ४ गते १७:३०

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् ।

समग्रमा १६–अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे। राहुलले आज ६–अन्डर ६६ स्कोर गरे ।

पहिलो दिनका संयुक्त लिडर सुबाशले आज बोगी रहित ५–अन्डर ६७ को स्कोर जोडे। समग्रमा उनले १५–अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्यले आज ५–अन्डर ६७ को नतिजा निकाले। समग्रमा १३–अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् ।

समग्रमा ११–अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८–अन्डर ६४ को स्कोर दर्ज गरे। निरजले ४–अन्डर ६८ मा खेल पुरा गरे ।

भुटानका निम दोर्जी तामाङ समग्रमा ८–अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन्। उनले आज २–अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७–अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा रहने क्रममा आज ४–अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३–अन्डर २ सय १३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रबि खड्का आठौं स्थानमा रहे । आज शुक्रले ३–अन्डर ६९, सञ्जयले २–अन्डर ७० र रबिले १–अन्डर ७१ को स्कोर बनाए ।

लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे । यसपछि ११ औं होलमा १ सट खेर फाल्दा १५ औं र १८ औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए । सुवाशले फ्रन्ट नाइनमा ३–अन्डर ३३ र ब्याक नाइनमा २–अन्डर ३४ खेले । यो क्रममा उनले तेस्रो, चौथो, नवौं, बार्हौं र तेर्हौ होलमा बर्डीको सफलता प्राप्त गरे ।

सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यसपछि ११ औं होलमा डबल बोगी खेपे। तर लगत्तै १२ औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन्।

शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

प्रतिक्रिया