आइतबार, असार ८, २०८२

नेपालको साइबर सुरक्षा रणनीति: वित्तीय क्षेत्रमा राष्ट्र बैंकको अग्रसरता

नेपालखोज २०८२ असार ७ गते १७:३२

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराबाट जोगाउनका लागि एउटा महत्वपूर्ण पहल स्वरूप, बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई शुक्रबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

फेडरेसन अफ कम्प्युटर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष तथा अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारीले यो रणनीतिक खाकाको परिकल्पना गरेका हुन् ।

यो रोडम्यापले नेपालको सूचना तथा सञ्चार प्रविधि र सुरक्षा क्षेत्रका प्रमुख सरोकारवालाबीचको सशक्त सहकार्यलाई झल्काउँछ ।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईसिटी विज्ञ तथा सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनका अध्यक्ष डा. शालिग्राम पराजुली, महासचिव डा. भोजराज घिमिरे, र सचिव बन्दना शर्मा ले अनुसन्धान र विकास मार्फत साइबर अपराध न्यूनीकरणमा सिएसआरआईको अपरिहार्य भूमिकाबारे प्रकाश पारे ।

सोही क्रममा, क्यान महासंघका महासचिव चन्द्रबिलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोन ले नेपालमा साइबर सुरक्षा सुदृढ पार्न क्यान महासंघको प्रतिबद्धता व्यक्त गरे ।

इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका उपाध्यक्ष तथा इनसाइट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपालमा स्थापना हुन लागेको फाइनान्सियल सेक्टर कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिमको निर्माण र संयुक्त रूपमा साइबर घटना व्यवस्थापनमा एनपीसिआरटीको भूमिकाबारे चर्चा गरे । एनपी सिआरटीकी बोर्ड सदस्य रोजिना डाँगीले युवा वर्गलाई लक्षित गरी बृहत् साइबर सुरक्षा सचेतना र शिक्षा अभियान चलाउनुपर्नेमा जोड दिइन्, जसले राष्ट्रिय दृष्टिकोणमा परिवर्तन ल्याउन मद्दत गर्नेछ ।

नेपालको राष्ट्रिय साइबर सुरक्षा नीति २०८०, विद्युतीय कारोबार ऐन २०६३ (२००८), साइबर सुरक्षा नियमावली २०७७ (२०२०), र नेपाल राष्ट्र बैंकको साइबर रेजिलियन्स निर्देशिका (२०२३) सँग पूर्ण रूपमा मेल खाने यो महत्वकांक्षी रोडम्यापले सुरक्षित र लचिलो वित्तीय प्रणालीको लागि आधार तयार पारेको छ ।

प्रतिक्रिया