सोमबार, वैशाख १५, २०८२

आज पाचौँ संविधान दिवस मनाइँदै

नेपालखोज २०७७ असोज ३ गते ५:५४

काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरि पाचौँ संविधान दिवस मनाइँदै छ ।

राष्ट्रिय दिवसका रुपमासमेत मनाइँदै आएको संविधान दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । यस्तै कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण सावधानी अपनाउँदै देशैभर पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

त्यस्तै मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छिन् ।

आज शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छिन् ।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा उनले गरेकी छिन् ।

संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् । आज शुभकामना दिँदै उनले विधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले संविधानसभाबाट संविधान जारी गर्ने लामो समयदेखिको जनाकाङ्क्षा पूरा गर्न भएका विभिन्न कालखण्डका जनान्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२\०६३ को ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको यस स्वर्णीम दिनमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रिया