पर्यटन प्रवर्द्धनको पर्खाइमा होङ्मा पोखरी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित पर्यटकीय सम्भावना बोकेको होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइमा छ । सम्भावना बोकेर पनि ओझेलमा परेको यो पोखरीको संरक्षण र प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटन प्रवर्द्धन हुने स्थानीय बताउँछन् ।
वरिपरि हुर्कंदै गरेका गुराँस, चिमाल, इन्द्रकमलका साथै अनार, नास्पाती, स्याउलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवाले पोखरीलाई आकर्षक बनाएका छन् ।
सौन्दर्यकरणका लागि बगैँचा बनाउने उद्देश्यले रोपिएका फलफूलका बीचमा बाह्रै महिना पानी जम्ने पोखरी र पोखरीभरि पानी रातो देखिने राता माछा देखिन्छन् । करिब एक हजार ५०० मिटर उचाइमा यो पोखरी अवस्थित छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलका रूपमा अवस्थित होङ्मा पोखरी पर्यटन प्रवर्द्धनको पर्खाइ छ ।
पौराणिक धार्मिक ग्रन्थ हिमवतखण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो पोखरीको संरक्षणका लागि जन्तेढुङ्गा–५ को वडा कार्यालयले १० लाख, कोशी प्रदेश सरकारले चार वर्षअघि १० लाख र दुई वर्षअघि पाँच लाख बजेट विनियोजन गरेर स्तरोन्नति गरिएको गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिए ।
वडा कार्यालय र प्रदेश सरकारबाट विनियोजन गरिएको उक्त रकमले पोखरीको तल्लोभागमा तारजालीसहित ढुङ्गाको बाँध बाँधिएको छ भने वरिपरि तारजालीको घेराबार, विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने तथा सरसफाइसहित सुन्दर बनाइएको छ ।
करिब १२ रोपनी क्षेत्रफल सरकारी जमिनमा फैलिएको यो पोखरी हिन्दू र किरात धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको स्थानीय विज्ञान राईले बताए । उनका अनुसार चारैतिर हरियाली डाँडापाखा रहेको यो ऐतिहासिकस्थल नजिकबाट अर्को पर्यटकीयस्थल भञ्ज्याङखर्क हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ग्रामीण सडक निर्माण गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि सङ्घ र प्रदेश सरकारबाट समपुरक, समानीकरण, विशेष शीर्षकबाहेक अन्य कुनै निकायबाट आर्थिक सहयोग उपलब्ध नहुँदा स्तरोन्नतिमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष खड्काले बताए ।
प्रतिक्रिया