बिहीबार, असार १२, २०८२

आइएमई ग्रुपको पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

नेपालखोज २०८२ असार ११ गते १७:५९

काठमाडौं । नेपालमै पहिलो पटक फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । आइएमई ग्रुपको करिब डेढ अर्ब रूपैयाँ लगानीमा रौतहटको फतुवा विजयपुरमा स्थापना गरिएको ’एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लि’ ले अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट बोर्ड उत्पादन सुरू गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योगको उद्घाटन गर्दै नेपालमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुनु औद्योगिक विकासतर्फको महत्वपूर्ण संकेत भएको बताए ।

उनले भने, ’आफ्नै देशमा उत्पादन गरेर आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो बनाउने तिरको यो ठूलो पाइला हो । सरकारले यस्ता उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन गर्छ ।’ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभित्रै स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको उपयोग गरी निर्माण क्षेत्रमा योगदान दिन नयाँ उद्योग स्थापना गरिएको बताए ।

’विदेशी मुद्रा बाहिरिनबाट रोक्ने र देशलाई आत्मनिर्भर बनाउने बाटो यही हो,’ उनले भने, ’नेपालमै अन्तर्राष्ट्रियस्तरको निर्माण सामग्री उत्पादन सम्भव छ भन्ने सन्देश यो उद्योगले दिएको छ ।’

एभरेष्ट उद्योगमा बोर्ड उत्पादनका सम्पूर्ण प्रक्रिया–कच्चा पदार्थको मिसावटदेखि कटिङ, प्रेसिङ र ड्राइङसम्म–पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्न सक्छ । उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइसम्म उपलब्ध छन् ।

यी बोर्डहरू लचकदार, अग्नि प्रतिरोधी, घामपानी नअसर पर्ने, वातावरणमैत्री र टिकाउ छन्। प्रयोगकर्ताले भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत संरचनामा यसको सहज प्रयोग गर्न सकिने बताइएको छ । इँटा र प्लास्टरको सट्टामा सम्पूर्ण संरचना निर्माणमा पनि यस बोर्डको प्रयोग सम्भव हुने दाबी कम्पनीको छ । ’१०–१५ दिनमै संरचना निर्माण गर्न मिल्ने भएकाले यसको माग अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो छ,’ अध्यक्ष ढकालले भने ।

भूकम्प, बाढी वा पहिरोजस्ता प्राकृतिक प्रकोपको बेला आपतकालीन संरचना निर्माणमा पनि यो बोर्ड उपयोगी बन्ने छ । प्लास्टर वा रंगको झन्झट नहुने भएकाले समय र लागतमा समेत बचत हुने कम्पनीको दाबी छ । स्थानीय रोजगार प्रवद्र्धनमा समेत उद्योगले विशेष जोड दिएको छ । हाल उद्योगमा करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगारी पाएका छन् । ’९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्,’ उद्योग व्यवस्थापनले जानकारी दियो । महिलाहरू बोर्ड प्रोसेसिङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् ।

एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत नेपाली निर्माण क्षेत्रमा दीर्घकालीन योगदान दिने लक्ष्य लिएको छ । अध्यक्ष ढकालका अनुसार, ’सस्तो, छिटो र बलियो निर्माण समाधानका लागि यो नयाँ प्रयास हो, जसले आयात प्रतिस्थापन मात्र होइन, देशकै सिप र स्रोत प्रयोग गरेर आत्मनिर्भर अर्थतन्त्रको बाटो देखाएको छ ।’

प्रतिक्रिया