बिहीबार, असार १२, २०८२

तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि

नेपालखोज २०८२ असार १२ गते १३:३२

ताप्लेजुङ । जिल्लाको सबैभन्दा प्रतिष्ठित खेलकुद प्रतियोगिता अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी साउन २४ देखि सुरु हुने भएको छ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्दै आएको उक्त गोल्डकप प्रतियोगिता साउन ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल खेलका साथ सम्पन्न हुने छ । समितिका सचिव टिकेन्द्र नेपालीले दिएको जानकारी अनुसार, प्रतियोगिताको तयारी अन्तर्गत खलमैदानमा प्याराफिट निर्माणका लागि पहल सुरु गरिएको छ ।

उक्त प्याराफिट निर्माणका लागि करिब तीन हजार बाँस आवश्यक पर्ने र बाँस बिक्री गर्न इच्छुक किसानलाई न्यूनतम मूल्यमा प्रस्ताव दिन आह्वानसमेत गरिसकेको छ । यससम्बन्धी सूचना मङ्गलबार सार्वजनिक गरिएको छ । यसैबीच, प्रतियोगिताको तयारीस्वरूप खेलमैदानमा दुबो रोप्ने कार्य पूरा भइसकेको छ । प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशिबारे छलफल जारी रहेको र छिट्टै निर्णय लिइने अध्यक्ष सागर मादेनले जानकारी दिए ।

प्रथम संस्करणमा रु तीन लाख, दोस्रोमा पाँच लाख नगद पुरस्कार प्रदान गरिएकोमा, यसपटक त्यो पुरस्कार राशि अझ बढ्ने सङ्केत देखिएको छ । कोषाध्यक्ष दावा शेर्पाका अनुसार, प्रतियोगिताबाट हुने आम्दानीको आधारमा पुरस्कार राशि वृद्धि गरिने तयारी भइरहेको छ । प्रतियोगितामा सहभागी हुने आमन्त्रित क्लबहरूको टुङ्क्रो पनि चाँडै लगाइने जनाइएको छ ।

खेलकुद र संस्कृतिको सङ्गमका रूपमा स्थापित ताप्लेजुङ गोल्डकप पहाडी क्षेत्रको बहुप्रतिक्षित प्रतियोगिता हो ।

प्रतिक्रिया