शुक्रबार, असार १३, २०८२

लुम्बिनी प्रदेश अस्पताल अत्याधुनिक भवनको २५ प्रतिशत भौतिक प्रगति

नेपालखोज २०८२ असार १३ गते १२:२५

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्विनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार प्राधिकरण कार्यालयका अनुसार अहिले मुख्य भवनको आधा हिस्साको दायाँ, बायाँ र बीचको भागमा ‘बेसमेन्ट’ को काम सकिएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलानको काम पनि पूरा भइसकेको छ । अहिले ‘लेफ्ट विङस्’को पहिलो ‘बेसमेन्ट’ को ढलानका लागि छड बुन्ने काम चलिरहेको छ ।

क्यान्सर भवनको ‘र्याफ्ट फाउन्डेसन’को पनि ढलानको काम पूरा भइसकेको प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले जानकारी दिए । उनले अहिले निर्माणमा कुनै अवरोध नरहेको र प्राधिकरणले निरन्तर समन्वय गरिरहेको बताए । उनले निर्माणका संलग्न सरोकारवालाहरु सबैसँग प्राधिकरणको टोलीले निरन्तर समन्वय र सहकार्य गरिरहेको बताए ।

पूर्वाधार प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छविराज पोखरेलले हालसम्मको प्रगति र कार्ययोजनालाई तुलना गर्दा आयोजनाको कार्ययोजनाअनुसार नै काम भइरहेको बताए । उनले कुनै प्राकृतिक विपत्ति वा आर्थिक सङ्कट नभएमा आयोजनालाई सम्झौता भएको समय आगाडि नै सम्पन्न गर्नेगरी काम भइरहेको बताए ।

निर्माण व्यवस्थापनको अन्तरराष्ट्रिय प्रावधानअनुसार निर्माण कार्यको व्यवस्थापन तथा गुणस्तर कायम गर्न आयोजना व्यवस्थापन तथा निर्माण सुपरिवेक्षण कन्सल्टेन्टका रुपमा जी–टु–जी माध्यमबाट काठमाडाैं विश्वविद्यालयअन्तर्गतको काठमाडौं युनिकन्सल्ट सेन्टरलाई जिम्मेवारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

उक्त संस्थाबाट प्राध्यापकको नेतृत्वमा रहेको १६ जनाको प्राविधिक टोलीले निर्माणमा प्रत्यक्ष सुपरिवेक्षण गरेको प्राधिकरणका साइट इन्जिनियर सुवेदीको भनाइ छ । प्राध्यापकसहितको टोलीले आयोजनाको ‘डिजाइन रिभ्यू’सहितको सुपरिवेक्षण गरिरहेको सुवेदीले बताए ।

निर्माण व्यवसायीको १० जनाको विशेष प्राविधिक टोलिसहित २२० जनाभन्दा बढी कामदारहरु दैनिक काममा खटिएका छन् । दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ लागत अनुमान गरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीले संयुक्त रूपमा ५ वर्षभित्र भवन निर्माण गर्नेगरी ६ अर्ब १८ करोडमा सम्झौता भएको छ ।

सझौताअनुसार विसं २०८५ पुस २५ मा निर्माण सम्पन्न गर्ने योजना छ । नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपत्कालीन उपचार, (इमर्जेन्सी) र इन्डोर सर्भिस कक्षसहित एक हजार २०० श्यया रहनेछन् । साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।

पूर्वाधार विकास प्राधिकरण सिइओ इन्जिनियर पोखरेलका अनुसार ‘क्याम्पासाइट–आशीष–रेलिगेर’ संयुक्त कम्पनीले रु छ अर्ब १८ करोड ५ वर्षमा प्रस्तावित भवन निर्माण सम्पन्न गर्नेगरी पुस २६ गते निर्माण सम्झौता गरेको हो । विक्रम संवत् २०८० पुस २६ गते सम्झौता भई कार्यादेश पाएको निर्माण व्यवसायी कम्पनीले २०८० साल माघ १८ गतेदेखि अस्पताल भवनको निर्माण प्रारम्भ गरेको थियो । भवनको शिलान्यास उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् ।

अस्पतालको पहिलो दुई तलामा व्यवस्थित पार्किङसहित विशिष्टीकृत उपचारसेवा प्रदान गर्नेगरी १२ तलाको आधुनिक अस्पताल भवन र क्यान्सरको उपचारका लागि अलग्गै भवनको निर्माण चलिरहेको छ । विसं २०५० सालमा १०० शय्यामा विस्तार भएको अस्पतालमा विसं २०७२ सालबाट सरकारबाट ३०० र विकास समितिबाट १०० शय्या गरी ४०० शय्यामा स्तरोन्नति भए पनि अहिले ५२४ शय्यामा बिरामीको उपचार हुने गरेको छ । अस्पतालमा दैनिक तीन हजारसम्म ओपिडीका बिरामी आउने गरेका छन् । अस्पतालमा वार्षिक झन्डै १० लाख बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।

यस अस्पतालबाट अहिले बहिरङ्ग सेवातर्फ जनरल मेडिसिन, न्युरो मेडिसिन, कार्डियोलोजी, अर्थोपेडिक सर्जरी, जनरल सर्जरी, प्लास्टिक सर्जरीसहित १७ भन्दा बढी विभागीय सेवा सञ्चालनमा छन् । परीक्षणतर्फ प्याथोलोजी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोनोस्कोपी, इइजी, ओपिजी, इकोकार्डिओग्राम लगायतका सेवा उपलब्ध छन् ।

प्रतिक्रिया