शुक्रबार, असार १३, २०८२

कोशी प्रदेशसभाः विनियोजन विधेयक बहुमतले पारित

नेपालखोज २०८२ असार १३ गते १६:४७

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा बनेको विधेयक, २०८२’ बहुमतले पारित भएको छ ।

सदनमा कोशी प्रदेश सरकारको ‘अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ भने सर्वसम्मतले पारित भएको थियो । उक्त दुवै प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसैगरी, विनियोजन विधेयक, २०८२ उपर अलगअलग शीर्षकमा कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र खिनुलङवा लिम्बूले प्रस्ताव गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट निर्माण गर्दा आम नागरिकको भावना र चाहनालाई केन्द्रमा राखी गरेको जानकारी दिँदै बजेटमा कसैमाथि अन्याय भएको दाबी गरे ।

बजेटमा सन्तुलन कायम छ, बजेट निर्माण गर्दा सत्तापक्ष र प्रतिपक्षलाई नहेरी जनताको आवश्यकताका योजना र चाहनालाई समावेश गरिएको छ, उनले भने, नदीजन्य पदार्थ, वनजङ्गल, मालपोत र यातायातका क्षेत्रबाट उल्लेखनीय राजस्व सङ्कलन गर्न प्रदेश सरकार योजनाबद्ध रुपमा लाग्नेछ ।

विशेष समय

प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेतालाई संसद्मा छलफल गर्न समय निर्धारण गर्ने प्रक्रिया गलत हो भन्दै संसद् सत्ताको नियन्त्रणमा रहन नहुने तर्क गरे ।

नेता आङ्बोले सरकारले बजेट निर्माण गर्दा कुनै एक जिल्लालाई मात्र नभई सबै जिल्लालाई हेरेर बजेट बनाउनुपर्ने बताउँदै सरकारले प्रदेशका ५६ वटै निर्वाचन क्षेत्रलाई न्याय गर्नुपर्ने धारणा राखेका थिए ।

शून्य समय

बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सुनसरीको श्रीलङ्का टापु र कोशी बाँध भत्किँदा प्रभावित जनतालाई उचित व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत सङ्घीय सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको अर्को बैठक यही असार १६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया