सोमबार, असार १६, २०८२

बेनी अस्पतालको भवन निर्माण सम्पन्न

नेपालखोज २०८२ असार १६ गते १२:५३

म्याग्दी । स्तरोन्नति र क्षमता विस्तार भएको दश वर्षपछि प्रदेश अस्पताल बेनीको पूर्वाधार तयार भएको छ । विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले नयाँ पक्की भवनबाट सेवा सञ्चालन थालेको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेकी जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले अस्थायी भवनबाट सञ्चालन गरिँदै आएको अस्पतालको सेवा नयाँ भवनबाट सुरु गरिएको जानकारी दिए ।

अन्तरङ्ग विभागको सेवा नयाँ भवनबाट सञ्चालन गरेका हौँ, उनले भने, अन्तिम चरणमा पुगेको भवन निर्माण कार्यले पूर्णता पाएपछि अन्य सेवा नयाँ भवनमा सार्ने तयारीमा छौँ ।

पक्की भवन बनाउनका लागि विसं २०७४ मा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङसिर २१ गते सम्झौता भएको थियो ।

१८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । आयोजनाका इञ्जिनियर वीरबल सुनारले भवन निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको बताए ।

भवनको सरसफाइ र बाहिर पाँच सय मिटर सडक कालोपत्रे काम मात्र बाँकी छ । चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चार तले तीन वटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्याल ढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया