मंगलबार, असार १७, २०८२

एसीसी यू-१६ : नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

नेपालखोज २०८२ असार १७ गते ११:२९

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इष्ट जोन कप-२०२५ प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाली टोलीले भुटानलाई जितका लागि ३५९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर ३५८ रन बनाएको हो ।

जारी प्रतियोगितामा नेपाल लगातार चौथो जीत हासिल गर्ने धुनमा छ । नेपालका लागि रौनक श्रीवास्तवले शतकीय तथा शिवांस बजगाइँ र जोय थापाले उत्कृष्ट अर्धशतकीय पाली खेले । रौनकले टोलीका लागि १६८ रनको योगदान गरे ।

चौथो नम्बरमा क्रिज समाल्न आएका रौनकले केवल १३२ बलको सामना गरी पाँच छक्का र १६ चौका पनि हिर्काए । यसअघि खेलिएको इन्डोनेसियाविरुद्धको खेलमा पनि रौनक श्रीवास्तवले ८८ रन बनाएका थिए ।

भुटानविरुद्ध तेस्रो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान शिवांसले पनि ५४ रनको योगदान गरे । उनले ५२ बलको सामना गरी पाँच चौका पनि हिर्काए ।

जोय थापाले टोलीको खातामा अविजित ६१ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले ६७ बलमा सात चौका प्रहार गरे ।

यसैगरी, सुगम बुढाथोकीले पनि टोलीको खातामा ३५ रन थपे । पाँचौँ नम्बरका ब्याट्सम्यान सुगमले केवल ३३ बलको सामना गरी चार चौका हिर्काए । सुगमले इन्डोनेसियाविरुद्ध पनि अविजित ३९ रन बनाएका थिए ।

प्रतिक्रिया