शुक्रबार, असार २०, २०८२

‘फाइभ ए साइड’ राष्ट्रिय महिला हकी प्रतियोगिता नेपालमा पनि हुने

नेपालखोज २०८२ असार २० गते १०:५८

काठमाडौं । नेपालमा पहिलोपटक राष्ट्रिय महिला ‘फाइभ ए साइड’ हकी प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल हकी संघले आयोजना गर्न लागेको हो ।

प्रतियोगिता भक्तपुरको थिमीस्थित मिड भ्याली कलेजको फुटसल मैदानमा शनिबार आयोजना हुनेछ । प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने नेपाल हकी संघकी महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेता टोलीले २५ हजार रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ । प्रतियोगिताको समूह ‘ए’ मा कोशी, बागमती र सुदूरपश्चिम तथा समूह ‘बी’ मा आर्मी, गण्डकी र मधेश प्रदेशको टोली रहेका छन् ।

प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । फाइभ ए साइड प्रतियोगिता कुल २० मिनेटको हुनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पनि ट्रफी पाउने बताइएको छ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक स्कोरर र इमर्जिङ प्लेयरले पनि ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया