मन्दिर खोल्न विश्व हिन्दु महासंघको माग
काठमाडौं । कोभिड १९ को कारण लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरी सम्पूर्ण मठ, मन्दिर, देवस्थलहरू बन्द गरिएकोमा हिन्दु ओमकार परिवारले तत्काल खुल्ला गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । नेपाल सरकारबाट बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक मुलुकमा सम्पन्न हुँदै आएका परम्परागत देवी देवताका जात्रा, पूजाहरू समेत रोक्ने प्रयास गरिँदै आएकोमा उक्त सन्स्थाले आपत्ति जनाएको छ । असोज १ गतेदेखि बजार, यातायात तथा सम्पूर्ण कारोबारहरू खुल्ला गरेसँगै आराध्यदेव भगवान श्रीपशुपतिनाथ, माता जानकीलगायत विभिन्न शक्तिपीठहरू, सम्पूर्ण मठ मन्दिर, गुम्बा, चैत्य, बिहार तथा सम्पूर्ण देवस्थलहरूमा सहज र सुरक्षित दर्शनका लागि तत्काल खुल्ला गर्न अनुरोध गरेका छन् ।
साथै राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दैवी शक्तिको स्रोतबाट नेपाल राष्ट्र एकीकरणको शक्ति आर्जन गरिबक्सेको तथ्यगत मान्यता अनुसार कोतमा रहेका हातहतियार र निशानको पूजा, फूलपाती, महाअष्टमीका दिन कालरात्री पूजा हर्षोल्लास र भव्यताका साथमा सुसम्पन्न गर्ने परम्परा रहिआएको अवगत गराउँदै नेपाल सरकारले कोभिड १९ को कारणबाट नवरात्रीका पूजाहरूमा रोक लगाउने बुझिएकोमा उक्त सँस्थाले आप्पती जनाएका छन् ।
कारणबस राष्ट्रको मौलिक पूजाआजा, जात्रा आदि रोकिएमा क्षमा पूजा गर्ने परम्परा रहेकाले यसपटक सम्बन्धित पक्षले देवी भगवतीसँग प्रार्थना तथा क्षमा पूजा गरी आफ्नो देशको रितिरिवाज, संस्कृति र परम्परालाई संरक्षण गरोेस् भन्ने माग गर्दै ८४ प्रतिशत भन्दा धेरै हिन्दु र ९४ प्रतिशत भन्दा धेरै ओमकार परिवारको भावनाको कदर गर्दै अगाडि बढ्नका निम्ति प्रेस विज्ञप्ति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया