आइतबार, मंसिर २८, २०८२

पर्साको दुग्धेश्वनाथ महादेव मन्दिरमा बिहानैदेखि दशनार्थीको भीड

नेपालखोज २०८२ असार ३० गते ११:५६

वीरगञ्ज (पर्सा) । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज साउन कृष्ण चतुर्थी भएकाले मन्दिरमा स्वदेशी र भारतीय दर्शनार्थीहरूको भीड लागेको छ ।

पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले दुग्धेश्वनाथ महादेव मन्दिर अर्थात् रामभौरी भाथा धाममा यही असार २७ गतेदेखि नै दशनार्थीहरूको सहभागी हुन थालेका जानकारी दिए ।

रामभौरी भाथाधाम मधेश प्रदेशका सर्वसाधारण जनताको मात्रै नभएर छिमेकी मुलुक भारतको विहार राज्यका जनताको आस्था र धरोहरका रूपमा रहँदै आइरहेको छ, उनले भने, यहाँ सोमबार दर्शन गर्ने दशनार्थीको घुइँचो नै लाग्ने गर्छ ।

अध्यक्ष चौधरीले साउन महिनाभरि चल्ने मेलाका लागि पालिकाले सडक, खानेपानी, शौचालयलगायतका अत्यावश्यक अस्थायी संरचना तयार पारिसकेको जानकारी दिए ।

साउन महिनाभरि लाखौँ सङ्ख्यामा दशनार्थीहरू आउने गर्छन्, उनले भने, हामीले स्थानीय प्रशासनसँगको समन्वयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाएका छौँ ।

मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले मन्दिरको दीर्घकालीन विकास र संरक्षणका लागि आवश्यक काम हुन नसकेको गुनासो गरे । आज बिहानदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामबद्ध भएको उनले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्याक्टर, मोटरसाइकलमा तथा केही व्यक्तिहरु पैदल हिँडेरै आउने गर्छन् । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम पनि हुन्छ, त्यसैले बेलुका ७ बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य याममा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ ।

प्रतिक्रिया