पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ पुग्ने पर्यटकले पनि अलौकिक आनन्दको अनुभूति गर्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक पनि यस्तै प्रकृति, संस्कृति र आतिथ्यताको संगम हो भन्दा फरक पर्दैन । यहाँको मौलिक संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाका सुन्दर दृश्यले पर्यटकलाई लोभ्याइरहेको छ ।
पर्यटन राजधानी पोखराबाट करिब ६० किलोमिटरको दुरी र अन्नपूर्ण हिमालको काखमा लुट्पुटिएको घान्द्रुक पर्यटकीय गाउँ मात्रै होइन, गुरुङ जातिको जीवन्त सङ्ग्र्रहालय पनि हो । जहाँ ढुङ्गाले छाएका घरहरू, सफा र चिटिक्क परेका गल्लीहरू, हँसिला अनुहार र मुस्कुराइरहेका हिमालले घान्द्रुकलाई जीवन्त बनाएका छन् ।
काठमाडौँबाट घुम्न आएका शिक्षक छवि थापाले आँखै अगाडिको सुन्दर हिमाल र गुरुङ समुदायको आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताए । बर्खायाम घुम्नका लागि उपयुक्त होइन भन्दाभन्दै पनि हामी घान्द्रुक आइपुगेका थियौँ, यहाँ आइसकेपछिको आनन्द बेग्लै पायौँ, बादलको घुम्टोभित्र लुकेको हिमालसँगै स्थानीयको आत्मियताले हामीलाई लोभ्यायो, उनले भने ।
पतिसँगै घुम्न आउनुभएकी बेसींसहरकी अनुजा न्यौपानेले यहाँको शान्त वातावरण र सुन्दर हिमालका दृश्यले यहाँ आइपुग्दाको थकान मेटाइदिएको अनुभव सुनाए । घान्द्रुकका बारेमा जति सुनिएको थियो, त्योभन्दा धेरै पाएँ, यहाँको सुन्दरता र आतिथ्यता सधैभरी सम्झनामा रहनेछ, उनले भने ।
पर्यटन प्रवर्द्धनको कार्यक्रम लिएर घान्द्रुक आइपुग्नुभएका गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीका पूर्वअध्यक्ष नवराज अधिकारीले घान्द्रुक गुरुङ समुदायको जीवन्त संस्कृति र परम्परा धानेको गाउँ भएको बताए । घान्द्रुक गुरुङ संस्कृतिको एउटा धरोहर हो, यहाँका घरहरूको वास्तुकला अद्वितीय छ, ढुङ्गाले बनेका र स्लेटले छाएका परम्परागत घरहरूले गाउँलाई मौलिक रुप दिएका छन्, सफा र चिटिक्क परेका ढुङ्गे गल्लीहरूमा हिँड्दा बेग्लै आभास हुन्छ ।
पूर्वअध्यक्ष अधिकारीले गाउँमा निर्माण भएको गुरुङ सङ्ग्रहालयले गुरुङ जातिको परम्परागत जीवनशैली, प्रयोग गर्ने भाँडाकुँडा, हतियार र वेशभूषाको जीवन्त प्रदर्शनी गरेको बताए । ‘हामीले प्रवर्द्धन गर्ने भनेको यही मौलिकता र आत्मीयपन हो, जसले पर्यटकलाई पटक–पटक यहाँ आउन प्रेरित गर्छ ।’
यहाँका अधिकांश घरबास (होमस्टे) महिलाले सञ्चालन गरेका छन् । यसले महिलालाई आर्थिक सशक्तीकरणमा पनि टेवा पुर्याएको पूर्वअध्यक्ष अधिकारीको भनाइ छ ।








प्रतिक्रिया