शनिबार, पुष ५, २०८२

जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

नेपालखोज २०८२ असार ३० गते १६:५५

ललितपुर । ललितपुर महानगरपालिका–१६ गावहाल बस्ने ५२ वर्षीय प्रेम महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रेम समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट २०८२ असार १८ गते उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका–१ सिंगौलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बर्दियाको मधुबन नगरपालिका–‍८ स्थित सडकमा भे.१३ प ९३६७ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुलरिया नगरपालिका–७ बागेस्वरी टोल बस्ने ५७ वर्षीय कृष्ण प्रसाद बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको नर्सिङहोम नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सडकमा सैइलहवाबाट राधाकृष्ण चोकतर्फ आउँदै गरेको युपि ४० बिबि १६२९ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुर्घटना हुँदा चालक भारत बहराईच ग्राम मेहेपुरूवा बस्ने ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित सडकमा बिआर ३२ एवाइ १४६३ नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०२–००६ प ९७४४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मधेश प्रदेश ०२–००६ प ९७४४ नम्बरको मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–१ मुग्राहा बस्ने २३ वर्षीय बिबेक यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बिआर ३२ एवाइ १४६३ नम्बरको मोटरसाइकल चालकको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया