‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

काठमाडौं । सरकारले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेका हुन् । मन्त्री पौडेलले साउनमा डेङ्गी सङ्क्रमण उच्च विन्दु पुग्ने तथा तीव्र हुने भएकाले साउनको सुरुआतदेखि नै सचेतना फैलाउनका लागि डेङ्गी सचेतना महिनाका रूपमा घोषणा गरिएको जानकारी दिए ।
उनले साउनदेखि कात्तिकसम्म डेङ्गीको जोखिम हुने भएकाले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’अभियान सुरु गरिने उल्लेख गरे । डेङ्गी साउन महिनामा उच्च सङ्क्रमण हुने सुरुवाती महिना हो, उनले भने, यस महिनामा सतर्कता अपनाउन सके सङ्क्रमण कम गर्न सकिन्छ । त्यसैले सम्भावित जोखिम नियन्त्रण गर्नका लागि साउनलाई सचेतना अभियान महिना घोषित गरिएको हो ।
मन्त्री पौडेलले डेङ्गी सरकारको एकल पहलले मात्र गर्न न्यूनीकरण गर्न नसकिने भन्दै नीजि क्षेत्र, समुदाय, टोल सबैको सहयोग र समन्वय आवश्यक पर्ने खाँचो औँल्याए । मन्त्रालयका सचिव डा विकास देवकोटाले साउनमा बढी पानी पर्ने भएकाले घर वरपर पानी जम्न नदिने उपाय अपनाउन सबैलाई अनुरोध गरे । उनले कम्तिमा साउनदेखि कात्तिकसम्म लामखुट्टे खोज र नष्ट गर अभियान हरेक कार्यलय, टोलमा संचालन गर्न सके डेङ्गी सङ्क्रमणलाई कम गर्न सकिने धारणा राखे ।
गत वर्ष सुरु भएको लामखुट्टे खोज र नष्ट गर अभियानका कारणले डेङ्गी सङ्क्रमण घटेको छ, उनले भने, यसपटक पनि यस अभियानलाई निरन्तरता दिएर सङ्क्रमण घटाउनु पर्छ । सचिव डा देवकोटाले डेङ्गी पूर्णरूपमा उन्मूलन गर्न नसकिने भन्दै मानिसको जीवनशैली परिवर्तन गरेर सङ्क्रमित हुनबाट जोगिनुपर्ने बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले डेङ्गी सङ्क्रमण एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले उक्त लामखुट्टेलाई खोजेर नष्ट गर्नु उत्तम उपाय रहेको बताए ।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश पाण्डवले डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि बहुक्षेत्रको भूमिका तथा संलग्नता हुनुपर्नेमा जोड दिए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले डेङ्गीको जोखिम हुने क्षेत्र पहिचान गरी खोज र नष्ट अभियान सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिइसकिएको जानकारी दिए ।
महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी परेसँगै डेङ्गीको सङक्रमण बढ्ने बताए । उनका अनुसार गत पुस १७ गतेदेखि असार ३१ गतेसम्म ७३ जिल्लाका एक हजार ९८३ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी रोग लाग्दछ, उनले भने ।








प्रतिक्रिया