सोमबार, पुष ७, २०८२

सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’

नेपालखोज २०८२ साउन ३ गते २०:१३

त्रिशूली (नुवाकोट) । विदुर नगरपालिकाले पर्यावरणमैत्री यात्रा, शारीरिक स्वास्थ्य प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन र परोपकारी उद्देश्यसहित ‘कोरा साइकलिङ च्यालेञ्ज’ आयोजना गरेको छ । आज आयोजना गरिएको साइकल यात्रामा एक सय ५० भन्दाबढीको सहभागिता थियो । विदुरले आफ्नो पालिकासहित जिल्लाका धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक स्थानको प्रचारप्रसारलाई लक्षित गर्दै सञ्चालन गरेको १३ किलोमिटर साइकल यात्रा सफलतापूर्वक सम्पन्न भएको नगर कार्यालयले जनाएको छ ।

नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौंलगायत जिल्लाबाट आएका व्यावसायिक साइकलिस्टहरूको सहभागिताले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह भएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा पहिलो पटक गरिएको साइकल यात्रामा उत्साहजनक सहभागिताले आगामी दिनमा नयाँ संस्करणका कार्यक्रम सञ्चालनमा हौसला प्राप्त भएको छ ।

‘कोरा साइकलिङ च्यालेञ्ज’ अभियानबाट सङ्कलित सहयोग रकम सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा बसोबास गर्ने दनुवार समुदायलाई सौर्यबत्ती वितरण गर्न केन्द्रित गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । अहिलेसम्म विद्युत् सेवा नपुगेको उक्त क्षेत्रमा टुकीको भरमा दैनिकी बिताइरहेका परिवारका लागि सङ्कलित रकमले सौर्य ऊर्जा जडानमार्फत गर्ने उद्देश्यले रकम सङ्कलन गरिएको उनले बताए ।

सामाजिक जागरुकता र सहकार्य प्रवर्द्धनमा टेवा पु¥याउनका लागि सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्न नगरप्रमुख श्रेष्ठले आह्वान गरे । साइकल यात्रामा नगरप्रमुख श्रेष्ठसहित उपप्रमुख प्रभा बोगटी, नेपाली सेनाको ६ नं बाहिनी अड्डा, धादिङका बाहिनीपति सुवासजङग थापा, शेर गण नुवाकोटका गणपति अशोककुमार मल्ल, सैन्य तालिम केन्द्र त्रिशूलीका केन्द्र प्रमुख देवराज भट्ट, वडा नं १ का वडाध्यक्ष लेनिन रञ्जितलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

सायाइकल यात्रा विदुर नगरपालिकाको प्रमुख प्रशासकीय कार्यालयबाट सुरु भएर विदुरचोक, वनदेवी मन्दिर–इन्द्रचोक–स्वयम्भू, महाचैत्यसम्म पुगेको थियो । त्यहाँबाट फर्कने क्रममा नुवाकोट साततले दरबार–भैरवीदेवी मन्दिर–धरमपानी–बाराही मन्दिर–बट्टार पुरानोपाटी हुँदै पुनः विदुर नगरपालिकाको कार्यालयमा पुगेर सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ । यात्रा पूरा हुन चार घण्टा लागेको थियो । -रासस

प्रतिक्रिया