मंगलबार, वैशाख १८, २०८१

नेपालमै बन्यो पहिलो पटक पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र

नेपालखोज २०७७ असोज ७ गते १९:३४

काठमाडौं । मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पिपिईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा पाइने थरिथरिका पिपिईलगायत मास्कको गुणस्तर पहिचान गर्न उक्त प्रविधि निर्माण गरेको हो ।

कोरोना महामारी आउनुअघि यी सामग्री परीक्षण गर्ने यन्त्र नरहेको र आफूहरुले पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागको मान्यता अनुरुप सो यन्त्र निर्माण गरेको वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले जिकिर गरेका छन् ।

सो यन्त्रमा ३० किलो पास्कलसम्म दबाब दिने मोटर, यसमा पिपिईमा जाने दबाब नियन्त्रण गर्ने साधन र यस यन्त्रमा शून्यदेखि १५ किलो पास्कल पुगेपछि बन्द हुने व्यवस्था गरिएको ढकालले जानकारी गराएका छन् ।

उक्त यन्त्रमा डिजिटल मिटर, सो यन्त्रलाई सञ्चालन र बन्द गर्ने स्वीच, पिपिई च्याप्ने नमूना डिस्क तथा माथिबाट सिंथेटिक रगत हाल्ने प्वाल अनि मुनिबाट पनि पिपिइ तथा मास्क परीक्षण पछि सो रगत फाल्ने प्वाल रहेको ढकालले बताए । नाष्टले सो यन्त्रलाई ‘प्रोटेक्टिभ क्लोथिङ पेनि ट्रेसन टेस्ट डिभाइस’ (पिसिटी) नाम दिएको छ ।

उक्त यन्त्रले नेपालमा बनेका मास्क तथा पिपिईलाई प्रमाणीकरण गरेर बजार प्रवद्र्धनका लागि सघाउने विश्वास नाष्टले लिएको छ । नाष्टले विभागसँग यन्त्रको आइएसओ मान्यता लिने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया