बुधबार, पुष ९, २०८२

गण्डकीमा छ सय बढीमा डेंगी संक्रमण

नेपालखोज २०८२ साउन ११ गते १५:३५

गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा तीन सय सात, तनहुँमा एक सय एक, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा चार जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म मुस्ताङ र मनाङमा भने डेङ्गीका बिरामी नेभिटएका छैनन् । कास्कीमा संक्रमण पुष्टि भएका तीन सय सातमध्ये एक सय तीन जना पोखरा महानगरपालिकाका रहेका छन् । प्रदेशभरमा हालसम्म पुष्टि भएका डेङ्गीका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन् ।

साउनदेखि कात्तिकसम्म डेङ्गी संक्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने जनाइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी संक्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा राखिएको बताए । गत वर्ष प्रदेश राजनधानी पोखरा डेङ्गीको ‘हटस्पट’ बनेकाले यसवर्ष सङ्क्रमण बढ्न नदिन उच्च सतकर्ता अपनाइएको उनको भनाइ छ ।

पोखरा महानगरसहित प्रदेशका स्थानीय तहहरूले समुदायस्तरमा डेङ्गी फैलनबाट रोक्न डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन् । उक्त लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको छ ।

गतवर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया